चरिकोट, २३ माघ । नेकपा एमाले दोलखाको जारी दशौँ जिल्ला अधिवेशनबाट सहमतिमा नेतृत्व चयनको ढोका बन्द भएपछि मङ्गलबारदेखि निर्वाचनका कार्यक्रम सुरु भएका छन् ।
यो अधिवेशनबाट एमाले दोलखाको नेतृत्व सम्हाल्नका लागि हालका अध्यक्ष नरबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष इश्वरचन्द्र पोखरेल र पूर्व सचिव भरत प्रसाद दुलाल मैदानमा छन् । जसमध्ये श्रेष्ठ र पोखरेल आआफ्नो प्यानल बनाएर मैदानमा छन् भने दुलाल प्यानल बिहिन स्वतन्त्र उम्मेद्वार हुन् ।
अध्यक्ष पदका लागि योग्य मानिएका अर्का नेता हिरा थोकरले भने उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । जनप्रतिनिधिले कार्यकारी पदमा उम्मेद्वारी दिन नपाउने पार्टी केन्द्रको निर्देशन बमोजिम उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका थोकर मेलुङ गाउँपालिकाका अध्यक्ष हुन् । २०४३ सालमा पार्टीको प्रारम्भिक कमिटी र २०४७ सालमा सङ्गठित सदस्यता लिएका उनी दोलखा एमालेमा निडर, निष्ठावान, धैर्यवान र ड्यासिङ नेताका रुपमा चिनिन्छन् । गत स्थानीय तहको निर्वाचनमा बेला अन्तर्घातको आरोप लगाउँदै तत्कालिन अध्यक्ष नरबहादुर श्रेष्ठले पार्टीको जिल्ला सचिव पदबाट कारबाही गरेका थोकरलाई पछि पार्टी केन्द्रले निर्दाेष रहेको भन्दै कारबाही फिर्ता गरिदिएको थियो । तर अध्यक्ष श्रेष्ठले कारबाही फिर्ता गरेर पुन सचिव पदमा बहाली गराउनु भन्दा जिल्ला कमिटी नै भङ्ग गरेर अधिवेशन आयोजक समिति बनाए र थोकरलाई अधिवेशन आयोजक कमिटीको सदस्यमा सिमित राखिदिए । उक्त घटना पछि अन्तरद्वन्द्वले थला परेको एमालेमा हिरा थोकरलाई पाखा लगाउन निकै प्रयास भए पनि आम नेता कार्यकर्तामाझ भिजेका उनलाई पाखा लगाउन नेतृत्वलाई हम्मे परेको थियो ।
थोकर अहिले हालका अध्यक्ष श्रेष्ठका विरुद्धमा खडा भएको पोखरेल प्यानलबाट उपाध्यक्ष पदको उम्मेद्वार बनेका छन् । आफ्नो राजनीतिक यात्राका क्रममा विद्यार्थीकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेका काम गरेका नेता थोकर दोलखा एमालेमा खारिएका नेता मानिन्छन् । उनले पार्टीका साथै विभिन्न सामाजिक जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका छन् । गत नवौँ जिल्ला अधिवेशनमा पनि थोकर आकर्षक मतका साथ सचिव पदमा निर्वाचित भएका थिए । गत स्थानीय तहको निर्वाचनमा जिल्लाका सातै ओटा गाउँपालिका मध्ये थोकर मात्रै एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । पार्टी भित्र मात्र नभइ अन्तरपार्टी सम्बन्ध र वातावरणमा पनि पोख्त थोकर दोलखाका उम्दा कम्युनिष्ट युवा नेता हुन् ।
जारी दशौँ अधिवेशनमा नर श्रेष्ठ प्यानलबाट निवर्तमान उपाध्यक्ष राजेन्द्र मानन्धर उपाध्यक्ष पदका प्रत्याशी छन् । सचिवमा भने श्रेष्ठ प्यानलबाट स्वयं बहादुर खड्का र पोखरेल प्यानलबाट कृष्ण बस्नेत मैदानमा छन् । सुनिए अनुसार श्रेष्ठ प्यानललाई पूर्व मन्त्री एवं एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङ र पोखरेल प्यानललाई पूर्व मन्त्री एवं अर्का पोलिट ब्युरो सदस्य आनन्द पोखरेलको साथ रहेको बताइन्छ ।



