दोलखा, ०७ पौष । आफ्नो गाउँपालिकासँगै समग्र जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित दोलखाको उत्तरी विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली आफै हिमाल आरोहणमा निस्किएका छन् ।
अध्यक्ष ओली सहितको आठ सदस्सीय आरोहण टोली ६ हजार १ सय ९ मिटर उचाईको ‘छोपा बामरे’ हिमाल आरोहणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । सरकारले हालै मात्र आरोहणका लागि खुला गरेको भर्जिन हिमालका नामले चिनिने छोपा बामरे हिमाल विगु गाउँपालिकाको उत्तर–पश्चिम क्षेत्रमा नेपाल र चिनको सिमानामा अवस्थित छ । दोलखा जिल्लालाई नै बहुआयामिक पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउने उद्देश्यले सुरु गरिएको आरोहण दलमा विगु गाउँपालिकाका उपाध्यक्ष देविका थामी, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, लाक्पागेली शेर्पा लगायत सम्मिलित छन् । आरोहण टोलीको नेतृत्व सगरमाथा आरोही लिला बहादुर बस्नेतले गर्नेछन् ।
हिमाल आरोहणका लागि सैद्धान्तिक अध्ययनसँगै प्रयोगात्मक तालिम तथा अभ्यास समेत जरुरी हुने भएकाले छोपा बामरेको आरोहण पश्चात हिमाल आरोहणका क्षेत्रमा नयाँ आयाम थपिने अध्यक्ष ओलीको भनाइ छ । मौसम अनुकूल भएको खण्डमा करिव २ सातामा आरोहण सम्पन्न गरी फर्किने टोलीको तयारी छ ।