भक्तपुर/दोलखा, २१ असार । गत चैत्रमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७२ सालकै लेटर ग्रेडिङ निर्देशिका अनुसार नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको नतिजा अनुसार कुल परीक्षार्थीका्े २ दशमलव ९ प्रतिशत अर्थात २२ हजार ४७५ जनाले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै एक लाख २ हजार २९३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् । गएको चैत्र १७ गतेदेखि सुरु भएको एसईई परीक्षामा देशभरका १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
माथिल्लो ग्रेड ल्याउनेमा बागमती प्रदेशका सबैभन्दा धेरै
देशका सात वटा प्रदेशमध्ये माथिल्लो ग्रेड ल्याएर एसईई उत्तीर्ण हुने सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या बागमती प्रदेशको रहेको छ ।
सार्वजनिक नतिजा अनुसार बागमती प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ११ हजार ४८१ रहेको छ, जुन बाँकी ६ वटा प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने कुल विद्यार्थी संख्या भन्दा बढी हो । बागमतीमा कुल ९९ हजार २४३ जनाले एसईई दिएकामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने ११.५६ प्रतिशत अर्थात ११ हजार ४८१ जना रहेका छन् । यो ग्रेड समूहमा लुम्बिनी दोस्रो, कोशी तेस्रो, मधेस चौथो, गण्डकी पाँचौँ, सुदुरपश्चिम छैठौँ र कर्णाली सातौँ स्थानमा रहेका छन् । ३.२० देखि ३.६० जीपीए सम्म ल्याउनेमा पनि बागमती प्रदेश नै अगाडी छ, यो ग्रेड समूहमा बागमतीका २० हजार २२१ जना विद्यार्थी रहेका छन् ।
दोलखाको अवस्था
यो समाचार तयार पार्दासम्म एसईई परीक्षामा दोलखाको अवस्थाबारे एकिन तथ्याङ्क सार्वजनिक भएको छैन । यद्यपी सामाजिक सञ्जालहरुमा प्रकाशित विभिन्न विद्यालयका नतिजाहरु अनुसार जिल्लामा सामुदायिक विद्यालय तर्फ वैतेश्वर गाउँपालिकाको हनुमन्तेश्वर मावि र संस्थागत विद्यालयतर्फ भीमेश्वर नगरपालिकाको चरिकोट स्थित अल्पाईन माविका विद्यार्थीले जिल्लामै उत्कृष्ट नतिजा ल्याएको आँकलन गरिएको छ । हनुमन्तेश्वर माविका छात्र प्रशिस घिमिरेले ३.९२ जिपिए ल्याएका छन् भने अल्पाईन पब्लिक स्कुलका रुपेश योञ्जन र क्रिस्टिना भुजेलले ३.९ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ ।