दोलखा, ०५ साउन । प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरमा अवस्थित भीमेश्वर (भीमसेन) को शिलामा शनिबार अपरान्ह दुई घण्टासम्म पसिना आयो । शनिबार दिउँसो १ बजेर ४७ मिनेट जाँदा शिलामा पसिना आउन सुरु भएको थियो, जुन क्रम ३ बजेर ५१ मिनेट जाँदासम्म जारी रह्यो । सुरुमा शिलाको बायाँ तर्फबाट पसिना आउन सुरु भएको थियो, पछि शिर हुँदै सबैतिर ढाकेको थियो ।
भीमेश्वरको शिलामा पसिना आउँदा राष्ट्र, राष्ट्रप्रमुख, सरकार एवं जनतामा अनिष्ट हुने जनविश्वास रहिआएको छ । शिलाको दाँया भागमा राष्ट्र प्रमुख वा सरकारमा अनिष्ट हुने बताइन्छ भने बाँया भागमा पसिना आउँदा देशवासीलाई अनिष्ट हुने विश्वास रहेको छ । शिलाको सबै भागबाट पसिना आएमा सिङ्गै मुलुकमा अनिष्ट हुने जनविश्वास रहेको छ ।
संयोग भन्ने वा सत्यता, मुलुकमा भएका ठूलाठूला घटना, राजनीतिक परिवर्तन आदिका बखतमा पनि भीमेश्वरको शिलामा पसिना आएर पूर्व सङ्केत हुने गरेको छ । राजपरिवारको अन्त्य, राजतन्त्रको अन्त्य भइ गणतन्त्रको उदय, २०७२ को विनाशकारी महाभूकम्प आदिका समयमा पनि भीमेश्वरको शिलामा पसिना आएको स्थानीयहरु बताउँछन् ।
२०५८ जेठ १९ गते राजपरिवारको अन्त्य हुनु अघि २०५७ को माघ १ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । त्यस्तै २०६१ असार ८ र ९ गते भीमेश्वरमा पसिना आएको थियो, त्यस बेला देशमा तत्कालिन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आउने, जनआन्दोलन, राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना जस्ता ठूला राजनीतिक परिवर्तनहरु भएका थिए । त्यसपछि २०७० सालमा दुई पटक भीमेश्वरको शिलामा पसिना आएको थियो जसले २०७२ को विनाशकारी भूकम्पलाई सङ्केत गरेको विश्वास गरिन्छ ।
सो भन्दा पहिले २०९० सालमा भीमेश्वरलाई पसिना आउँदा पनि महाभूकम्प गएको थियो भने २००७ सालमा प्रजातन्त्रको उदय हुँदा होस् वा २०४६ सालमा पन्चायती व्यवस्थाको अन्त्य भइ बहुदलको स्थापना हुँदा होस्, भीमेश्वरको शिलामा पसिना आएर त्यसको पूर्व सङ्केत गरेको जानकारहरु बताउँछन् । त्यो बाहेक वि.सं. १९९७, २०११, २०१७, २०१८, २०२८, २०३६, २०४५ सालमा पनि भीमेश्वरको शिलामा पसिना आएको थियो । पछिल्लो पटक भने २०७८ बैशाख २५ मा भीमेश्वरलाई पसिना आएको थियो । यी सबै समयमा मुलुकमा कुनै न कुनै रुपमा ठूलै परिवर्तन हुने गरेको स्थानीयको अनुभव छ । त्यस्ता परिवर्तन सकरात्मक र नकरात्मक दुवै हुने गरेको छ ।
भीमेश्वरको शिलामा पसिना आउन सुरु भएपछि विधिपूर्वक पूजा नगरी पसिना नरोकिने जनविश्वासका साथ शनिबार पनि स्थानीयबासी र भक्तजनहरु भेला भइ बाजागाजा सहित घण्टी बजाउने, धुपबत्ती बाल्ने, मन्दिरका मूख्य व्यक्तिहरुले भीमेश्वरको शिलालाई पङ्खाले हम्किने आदि गरिएको थियो । त्यस्तै शिलामा आएको पसिनलाई शुद्ध कपासले पुछ्ने चलन रहेको छ । भीमेश्वरको पसिना पुछेको कपास राष्ट्र प्रमुख र सर्वसाधारणलाई प्रसाद स्वरुप बाँड्ने गरिन्छ । पसिना पुछेको कपासलाई खाममा हालेर राष्ट्र प्रमुखकहाँ पठाएपछि राष्ट्र प्रमुखका तर्फबाट मन्दिरमा क्षमापूजा गर्ने चलन छ । राजतन्त्रका बेला राजपरिवारबाट क्षमापूजा गर्ने चलन रहेकोमा अहिले राष्ट्रपतिका तर्फबाट क्षमापूजा हुँदै आएको छ ।
सोही अनुसार आइतबार राष्ट्रपतिलाई महाप्रसाद पठाइने भीमेश्वर गुठी व्यवस्थापन समितिले जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी सहित गुठी व्यवस्थापन समितिका पदाधिकारी प्रसाद लिएर राष्ट्रपतिकहाँ जाने बताइएको छ ।