दोलखा, १६ असार । विगत नौ दिनदेखि हराइरहेका दोलखाको जिरी नगरपालिका वडा नम्बर ३ मालीका शम्भु दाहाल मृत फेला परेका छन् ।
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ३ स्थित सुनकोशी नदी किनारमा दाहालको शव फेला परेको हो । शनिबार सुनकोशी नदिमा फेला परेको शवलाई आइतबार दाहालका परिवारजन आएर सनाखत गरेको सिन्धुली प्रहरीले जनाएको छ । उनको शव हाल सिन्धुली अस्पतालमा राखिएको छ ।


गत असार ८ गते काठमाण्डौ जान भनी घरबाट निस्किएका दाहाल दोलखाको तामाकोशी (नयाँपुल) बजार क्षेत्रबाट बेपत्ता भएका थिए । बेपत्ता दाहालको खोजी गर्ने क्रममा उनले प्रयोग गरेको झोला तामाकोशी गाउँपालिका वडा नम्बर १ स्थित सिस्ने जङ्गल स्थित तामाकोशी नदी किनारमा फेला परेको थियो ।
