दोलखा, २ असार । १० वर्षे जनयुद्धका कुशल कमाण्डर एवं पूर्वको चम्किलो ताराको नामले लोकप्रिय नेता रितबहादुर खड्का प्रतापको २४ औँ स्मृति दिवस मङ्गलबार विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय कार्यालय पेरिसडाँडा काठमाडौंमा विशेष कार्यक्रम गरी खड्काको स्मरण गरेको छ । कार्यक्रममा नेताहरू अग्नि सापकोटा, बलराम थापा, महेन्द्र बहादुर कार्की, भीम प्रसाद दाहाल लगायतले खड्काको योगदान, त्याग र बलिदानको स्मरण गरे । सहिदहरूको बलिदानले परिवर्तन र न्यायपूर्ण समाज निर्माणको अभियानमा प्रेरणा मिलेको भन्दै कार्यक्रमका वक्ताहरूले सहिदहरूको सपना पूरा गर्न एकवद्ध भएर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै सहिद खड्काकी आमा मनमाया खड्काले सन्तान गुमाउनु जस्तो पीडा अरू नहुने भन्दै आफ्नो छोरा सहादत भएको खबर पाएको क्षण सम्झिँदा अहिले पनि मन भक्कानिने गरेको बताउनुभयो ।

त्यस्तै सहिद खड्काको नामबाट नामाकरण गरिएको दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ सिङ्गटी स्थित प्रताप स्मृति कलेजमा पनि शोक तथा स्मृति सभा आयोजना गरिएको थियो । कलेज व्यवस्थापन समितिका अध्यक्ष सन्जीव ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपामा नेता एवम् कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, नेता नवराज अर्याल, सहायक कलेज प्रमुख रोशन कार्की लगायत प्राध्यापकहरू एवम् विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

२०२८ सालमा दोलखाको जुँगुमा जन्मिएका रितबहादुरको २०५९ असार २ गते रौतहटको पिपराहमा तत्कालिन सरकारी सुरक्षा फौजले गोली हानी हत्या गरेको थियो । कलिलै उमेरमा क्रान्तिमा लागेका नेता खड्का तत्कालिन विद्रोही माओवादीका केन्द्रिय सदस्य रहेका थिए । साहित्यमा पनि रुचि राख्ने उनलाई पूर्वको चम्किलो तारा उपनामले चिनिन्थ्यो ।


