चरीकोट, ०२ माघ । नेपाली कम्युनिष्ट पार्टी दोलखाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ ।
उक्त पार्टीले नेता गङ्गा कार्की विश्वलाई चुनावको पोलिटिकल हाई कमाण्डको जिम्मेवारी तोकेको छ । कार्की प्रतिनिधि सभाका निवर्तमान सदस्य हुन् ।
नेकपाले भीम प्रसाद दाहालको संयोजकत्वमा ७५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा नेताहरु भरत प्रसाद दुलाल र होम पाठक चयन भएका छन् । परिचालन समितिको सचिवालय भने ५१ सदस्यीय हुनेछ ।
नेकपा दोलखाले आसन्न निर्वाचनका लागि नेता विशाल खड्का, गोपाल न्यौपाने लगायतका नेताहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार यही माघ ६ गते उम्मेद्वारी मनोनयन हुनेछ । जसका लागि शुक्रबार नै जिल्ला जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना भइसकेका छन् ।



