दोलखा, १३ असार । दोलखामा भीमेश्वर नगरपालिका स्थित सडकमा मृत निरबिरालो भेटिएको छ । चरिकोट–दोलखा सडक खण्ड अन्तरगत गौतमटोल तीन धारा अगाडीको सडकमा मृत निरबिरालो भेटिएको हो ।
बुधबार साँझ अन्दाजी साँढे ७ बजे मृत भेटिएको निरबिरालोलाई कुनै सवारी साधनले ठक्कर दिएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयको खबर पछि नजिकै रहेको सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोलीले मृत निरबिरालोको शवलाई लिएर गएको छ । उक्त शवलाई बिहिबार आवश्यक मुचुल्का गरी व्यवस्थापन गरिने वन कार्यालयका रेन्जर गुप्त बहादुर बस्नेतले जनतापेजलाई जानकारी दिए ।
सामान्यतया समुन्द्री सतहबाट १५ सय मिटरदेखि माथिको उचाईमा पाईने विभिन्न प्रजातीका निरबिरालोको रौँ, छाला, मासु, कस्तुरी (एक प्रकारको कडा गन्ध वा वासना आउने तरल पदार्थ जसलाई सीविट भनिन्छ, यसको प्रयोग स्थिर र वासनायुक्त महङ्गा अत्तरहरु बनाउन प्रयोग हुन्छ) आदिको अवैध व्यापार हुने गरेका कारण यसलाई लोपोन्मुख वन्यजन्तुको सुचिमा समावेश गरिएको छ । स्तनपायि वर्गमा पर्ने यो जनावर प्रायजसो दक्षिण एसिया तथा अफ्रिका क्षेत्रमा पाइन्छ । नेपालमा यसलाई सिलु, सिरु, औलेकस्तुरी पनि भन्ने गरेको पाइन्छ ।