दोलखा, ०९ असार । दोलखाको उत्तरपूर्वी गौरीशङ्कर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै ५९ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आइतबार सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ८४ लाख ६ हजार ६ सय ५० रुपैयाँ बराबरको बजेट पेश गरिएको हो । गौरीशङ्कर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष एवं सामाजिक विकास शाखा संयोजक युगबहादुर बस्नेतले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी चालु खर्च तर्फ ९ करोड ९५ लाख, वडाहरुका लागि ४ करोड ६० लाख, शिक्षा तथा खेलकुदका लागि २ करोड ३० लाख, पालिकास्तरीय योजनाका लागि १ करोड ९३ लाख ९८ हजार ६ सय ५०, स्वास्थ्य तर्फ एक करोड ५० लाख, कृषि तथा पशुपन्छी विकास, विपद् व्यवस्थापन र पूँजीगत खर्च तर्फ समान ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि गाउँपालिका अध्यक्ष विश्वास कार्कीले आगामी वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । जसमा सिङ्गटी–लामाबगर सडक खण्डको भोर्लेदेखि गाउँपालिका कार्यालयसम्मको सडकलाई पक्की सडकको रुपमा विकास गर्ने एवं गाउँपालिका भित्रका अन्य सडकहरुको स्तरोन्नती गर्ने, खानेपानी तर्फ एक घर एक धारा कार्यक्रमलाई निरन्तरता गर्ने, गाउँपालिकाको सेवा नवनिर्मित प्रशासकिय भवनबाट सुचारु गर्ने, निर्माणाधिन एवं निर्माण हुन बाँकी वडा कार्यालय एवं विद्यालय भवन निर्माण कार्य अघि बढाउने लगायतका योजना समावेश गरिएका छन् ।
त्यस्तै गाउँपालिकामा सामुदायिक होमस्टे विस्तार, स्थानीय स्तरमा सञ्चालन गर्न सकिने साना तथा मझौला उद्योेग स्थापनामा उद्योगीहरुलाई प्रोत्साहन एवं लघु उद्यम सन्चालन, गाउँपालिकाभित्र सम्भावित खानीहरुको उत्खनन् जस्ता विषय पनि नीति तथा कार्यक्रममा समावेश छन् । साथै शिक्षा क्षेत्र तर्फ सम्पूर्ण माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विस्तार गर्ने, प्रबिधिमैत्री शिक्षा प्रणाली अवलम्बन गर्ने तथा आगामी आर्थिक वर्षमा गाउँपालिकाले शैक्षिक सम्मेलन गर्ने लगायतका कार्यक्रमहरु समावेश गरिएका छन् ।