दोलखा, २ असार । १० वर्षे जनयुद्धका कुशल कमाण्डर एवं पूर्वको चम्किलो ताराको नामले लोकप्रिय नेता रितबहादुर खड्का प्रतापको २३ औँ स्मृति दिवस सोमबार विविध कार्यक्रम गरी मनाइएको छ ।
नेकपा माओवादी केन्द्र दोलखाले सदरमुकाम चरीकोटमा विशेष कार्यक्रमको आयोजना गरी खड्काको स्मरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुनले मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र पाए पनि सहिदको सपना अझै पूरा नभएकोले त्यसतर्फ लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । पार्टीले समाजवादी क्रान्तिको आधार तयार पारिरहेकाले सहिदका सपनालाई आत्मसाथ गरेर समाजवादको यात्रामा जुट्नुपर्ने उनको भनाइ थियो । पूर्व राष्ट्रपति समेत रहेका उपाध्यक्ष पुनले कुशल, वैचारिक र प्रतिभाशाली नेता रित बहादुरको निधन पार्टी र नेपाली क्रान्तिका लागि ठूलो क्षति भएको उल्लेख गरे ।

नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्मृति सभालाई सहिद रितबहादुरका सहोदर भाइ एवम् माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, नेताहरू मुक्ति प्रधान, सुर्य सुवेदी, शङ्कर लामा, बलराम थापा लगायतले सम्बोेधन गरेका थिए ।
२०२८ सालमा दोलखाको जुँगुमा जन्मिएका रितबहादुरको २०५९ असार २ गते रौतहटको पिपराहमा तत्कालिन सरकारी सुरक्षा फौजले गोली हानी हत्या गरेको थियो । कलिलै उमेरमा क्रान्तिमा लागेका नेता खड्का तत्कालिन विद्रोही माओवादीका केन्द्रिय सदस्य रहेका थिए । साहित्यमा पनि रुचि राख्ने उनलाई पूर्वको चम्किलो तारा उपनामले चिनिन्थ्यो ।



