दोलखा, १५ पौष । दोलखाको विगु गाउँपालिकाका अध्यक्ष सहितको आरोहण दलले ‘भर्जिन’ हिमालका रुपमा रहेको ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरेको छ ।
अध्यक्ष सञ्जीब ओली सहितको उक्त आरोहण दल हिमालको सफल आरोहण गरी आइतबार लामाबगर आईपुगेको छ । लामाबगर आईपुगेको टोलीलाई लामाबगरका स्थानीयले स्वागत गरेका छन् । गत पौष ७ गते आरोहणका लागि गएको उक्त टोलीले शुक्रबार विहान करिव १० बजे शिखर चुमेको थियो । आठ जनाको टोलीमध्ये अध्यक्ष ओली सहित ६ जनाले मात्रै शिखरसम्मको यात्रा पूरा गरेका थिए । आरहण पूरा गर्नेमा विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली, सगरमाथा आरोही लिला बहादुर बस्नेत , निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का र लाक्पागेली शेर्पा रहेका छन् ।छोपा बामरे हिमालको चुचुरोमा पुग्न सफल भएका थिए ।
आरोहणपछि जनतापेजसँग कुरा गर्दै अध्यक्ष ओलीले छोपा बामरे हिमालको सफल आरोहणले जिल्लनको बिकट उत्तरी बस्ती लप्ची सहित सिङ्गो जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उक्त हिमाललाई आरोहण सिकाई केन्द्रको रुपमा विकास गर्न गाउँपालिकाले आवश्यक संरचनाको विकास लगायत क्षेत्रमा तत्काल पहलकदमी लिने अध्यक्ष ओलीको भनाई छ ।
विगु गाउँपालिका वडा नम्बर १ स्थित लामाबगरको उत्तरपश्चिममा अवस्थित ६ हजार १ सय ९ मिटर उचाईको उक्त हिमालको शिखरबाट सगरमाथा, गौरिशंकर, मकालु, चोयु, लोत्से लगायतका ८ हजार मिटर भन्दा बढि उचाइका हिमाल समेत अवलोकन गर्न सकिने आरोहण दलका लिला बहादुर बस्नेतले जानकारी दिए ।