दोलखा, १५ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिबारदेखि सुरु भएको छ । विहान ८ बजे सुरु भएको परीक्षाको पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।
परीक्षामा सामुदायिक र संस्थागत गरी दश हजार आठ सय ६ विद्यालयका ५ लाख ४ हजार भन्दा बढी सहभागि छन् । परीक्षाका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।
दोलखाबाट ८५ ओटा सामुदायिक, ११ ओटा संस्थागत र १ ओटा खुल्ला विद्यालयका २ हजार ६ सय ४६ जना परीक्षार्थी सहभागि छन् । जसमध्ये १ हजार २ सय ३३ जना छात्र र १ हजार ४ सय १३ छात्रा रहेका छन् ।
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अङ्क ल्यए पनि हुने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनैपर्ने छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाईने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।