दोलखा, २५ कार्तिक । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शनिबारदेखि सुरु भएको छ ।
कार्तिक कृष्ण त्रयोदशीको दिनबाट सुरु हुने तिहार अर्थात यमपञ्चकको पहिलो दिन शनिबार कागको पूजा गरिन्छ । कागलाई मृत्युका देवता यमराजको दुत तथा सन्देशवाहकका रुपमा विभिन्न परिकार खान दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमदीप दान पनि शनिबार बेलुकाबाटै सुरु गर्नुपर्दछ । यमपञ्चकका बेला यमदीप दान गरे यम यातनाबाट मुक्त हुने धार्मिक मान्यता रहेको छ ।
यमपञ्चकको दोस्रो दिन आइतबार कुकुर तिहार परेको छ । तिथीको घटबडका कारण लक्ष्मीपूजा पनि आइतबार नै परेको समितिले जनाएको छ । गाईपूजा भने कार्तिक २७ गते सोमबार परेको छ भने गोरुपूजा, गोवद्र्धन पूजा, म्हपूजा कार्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल द्वितियका दिन अर्थात कार्तिक २९ गते बुधबार भाइटिका परेको छ । बुधबार विहान १०ः५१ बजे भाइटिकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।
दोलखामा पनि तिहारको रौनक सुरु भइसकेको छ । झिलिमिली बत्ती र फूलहरुले सहरबजार र गाउँवस्ती झपक्कै भएका छन् । स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गरेर तिहार मनाउन भनेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सार्वजनिक सूचना जारी गर्दै पटका तथा अतिसबाजी नपड्काउन, जुवातास नखेल्न–नखेलाउन, देउसी भैलो कार्यक्रम रातीको १० बजेसम्म मात्रै खेल्न निर्देशन दिएका छन् ।


