दोलखा, २० असार । नव निर्मित वृद्धाश्रम भवन सञ्चालनका लागि दोलखाको प्रसिद्ध चरणावती त्रिवेणी धाममा गत जेठमा सम्पन्न श्रीमद् देवी भागवत महापुराणको आयव्यय बुधबार सार्वजनिक गरिएको छ । सदरमुकाम चरिकोटमा एक समारोहका वीच आयोजक मूल समारोह समितिले पत्रकार र सरोकारवालाहरुका वीचमा महायज्ञको आम्दानी खर्च सार्वजनिक गरेको हो ।
महायज्ञका आर्थिक संयोजक एवं चरणावती धाम विकास तथा प्रवर्द्धन संघका कोषाध्यक्ष शम्भु खड्काले महायज्ञको अवधिभर नगद महायज्ञमा रसिद मार्फत प्राप्त सहयोग र कलश विक्रि लगायत गरी महायज्ञमा कुल एक करोड चार लाख ३६ हजार ९५१ सङ्कलन भएको जानकारी दिए । महायज्ञका दौरान एक हजार २७ जनाले न्यूनतम एक हजार रुपैयाँ देखि अधिकतम १५ लाख २ हजार रुपैयाँसम्म रसिद मार्फत दान गरेका थिए । खड्काका अनुसार महायज्ञ सफल बनाउन प्रचारप्रसार तथा अन्य व्यवस्थापनमा खर्च भएको ३१ लाख ७१ हजार १२२ कटाएर मौज्दात रहेको ७३ लाख ५ हजार ८२९ रुपैयाँ बराबरको रकमलाई अक्षयकोषमा जम्मा गरिएको छ ।
यद्यपी महायज्ञमा विभिन्न व्यक्तिहरुले घोषणा गरेको करिव १५ लाख रकम प्राप्त हुन बाँकी रहेको र जिल्ला स्थित स्थानीय तहहरुले प्रतिवद्धता जनाएको रकमको विवरण पनि प्राप्त भएपछि पुनः सार्वजनिक गरिने जनाइएको छ । पालिकाहरुले प्रतिवद्धता गरे अनुरुपको रकम उपलब्ध गराएमा हाल मौज्दात नगद र संघले यसअघि नै विभिन्न अवधीमा भएको आम्दानी बापत अक्षयकोषमा राखेको ३० लाख नगद समेत गरी २ करोड भन्दा बढी रकम कोषमा रहने संघका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताए । उक्त रकमलाई एकमुष्ट अक्षयकोषमा राखी प्राप्त आम्दानी र अन्य व्यवस्थापनबाट त्रिवेणी धाममा निर्मित ज्येष्ठ नागरिक सेवा केन्द्र भवन (वृद्धाश्रम) लाई व्यवस्थित रुपले सञ्चालन गर्न सकिने संघको विश्वास छ ।
ज्येष्ठ नागरिक सेवा केन्द्रलाई सञ्चालनका लागि निकट भविष्यमै कार्यविधि बनाएर अघि बढ्ने संघले जनाएको छ । कार्यविधि निर्माण र केही कानूनी पक्षहरुको व्यवस्थापन पछि जिल्ला स्थित सबै स्थानीय तह र सरोकारवाहरुसँगको समन्वयमा सेवाकेन्द्र सञ्चालन प्रारम्भ गरिने अध्यक्ष बुढाथोकीको भनाई छ । महायज्ञ मूल समारोह समितिका संयोजक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न आम्दानी खर्च विवरण सार्वजनिक कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, पूर्व अध्यक्ष एवं महायज्ञ मूल समारोह समितिका सचिव भरत प्रसाद दुलाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईं, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्तकुमार चौलागाईं लगायतले आआफ्नो धारणा राखेका थिए ।
दोलखाका वैतेश्वर, तामाकोशी, मेलुङ र शैलुङ गाउँपालिका तथा भीमेश्वर नगरपालिकाको केन्द्रविन्दुमा पर्ने चरणावती त्रिवेणी धाममा संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका समेत गरी करिव ३ करोड ३५ लाखमा १८ कोठे ज्येष्ठ नागरिक सेवा भवन निर्माण गरिएको छ । सो भवनमा ४० जना वृद्धवद्धालाई व्यवस्थित सेवा दिन सकिने बताइएको छ ।