दोलखा, २७ बैशाख । २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेको दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी स्थित दोबाटे पाटी पुन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पुरातत्व विभागको २ करोड ३२ लाख रुपैयाँमा पुन निर्माण भइरहेको पाटीको लगभग ९० प्रतिशत काम पूरा भएको हो । २०७९ सालको माघ महिनाबाट निर्माण सुरु भएको पाटीको छानामा तामाको पाता राख्ने, झ्याल ढोकामा खापा राख्ने, कम्पाउण्डको निर्माण, रङ्गरोङ्गन लगायतका काम बाँकी रहेको र उक्त काम पनि यही २०८१ सालभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पार्टी पुन निर्माण समितिका अध्यक्ष योगराज थपलियाले जानकारी दिए ।
लगभग ३०७ वर्ष अगाडि १७७४ सालमा थपलिया वंशका पुर्खा पण्डित नन्दखर थपलियाले निर्माण गरेको पाटी २०७२ सालको भूकम्प पछि भत्किएको थियो । आफ्ना पुर्खाले धार्मिक एवम सामाजिक आस्थाले निर्माण गरेको पाटी भत्किएपछि थपलिया वंशका अग्रजहरु प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, नेपाल सरकारका सचिव राम प्रसाद थपलिया, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वरिष्ठ पत्रकार एवम समाजसेवी अर्जुन थपलिया लगायतको विशेष पहलमा भूकम्पको ७ वर्षपछि राष्ट्रिय पुरातत्त्व विभागको क्रमागत योजनाका रुपमा पुन निर्माण सुरु भएको थियो ।
२०८० को चैत्रसम्म निर्माण सम्पन्न गर्नेगरी २०७९ सालको माघ १४ गते शिलन्याश गरिएको पाटी पर्याप्त बजेटको अभावमा समयमै सम्पन्न गर्न नसकिएको निर्माण समितिको भनाइ छ ।