दोलखा, १० असार । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा रहेको शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरु अध्ययनसँगै आम्दानीमा पनि जोडिन थालेका छन् ।
विद्यालयले प्राविधिक धार तर्फ अध्ययन गर्ने विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेसँगै विद्यार्थीहरु कुखुरा पालन, च्याउ खेती जस्ता आम्दानीका काममा सामेल भएका हुन् । शारादा माविमा अहिले विद्यार्थीहरुले २ सय बढी गिरिराज जातका कुखुरा पालन गर्नुको साथै सय भन्दा बढी ब्याग मार्फत च्याउ खेती गरेका छन् । कुखुरा पालनको रेखदेख पशु विज्ञान तर्फ अध्ययनरत र च्याउ खेतिको रेखदेख कृषि विज्ञान तर्फ अध्ययनरत विद्यार्थीहरुले गर्ने गरेका छन् । उक्त कार्यका लागि आवश्यक आर्थिक र भौतिक व्यवस्थापन भने विद्यालयले गरिदिएको हो ।
विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप समेत विकास गर्ने र आयआर्जनको मार्गमा अभिप्रेरित गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक मान बहादुर तमाङले जानकारी दिए । उनका अनुसार उक्त कार्यबाट भएको आम्दानीको २० प्रतिशत रकम विद्यार्थीहरुले पाउनेछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल श्रेष्ठले यो अभियानलाई थप विस्तार गर्दै आलु, किवी, स्याउ लगायतको खेती र पशुपालन पनि सुरु गर्ने र विद्यालयलाई एउटा नमुना एग्रो टुरिज्म हबको रुपमा विकास गर्ने आफुहरुको योजना रहेको बताए । सो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई सहयोगको आग्रह गरिएको भन्दै अध्यक्ष श्रेष्ठले सम्बन्धित सबै पक्षबाट पनि सहयोगको अपेक्षा गरिएको उल्लेख गरे ।
शारादा माविमा १८ महिने पशु विज्ञान तर्फ २६ जना र ३ वर्षे बालीविज्ञान तर्फ २७ जना विद्यार्थीहरु अध्ययनरत छन् ।