दोलखा, १८ असार । गत शुक्रबार पार्किङ गरि राखिएको गाडीभित्र मृत भेटिएका सहचालकको शव परिवारजनले बुझेका छन् ।
जिल्ला प्रशासन कार्यालय दोलखामा सोमबार प्रतिनिधि सभाका सदस्य गङ्गा कार्कीको रहोबरमा भएको छलफलमा पिडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउने, मृतकका तीन जना छोराछोरीलाई अरनिको यातयातले निशुल्क शिक्षा प्रदान गर्ने लगायतका सहमति भएपछि मृतकको शव बुझेका हुन् । शवको सोमबार नै दाहसँस्कार गरिएको छ ।
शुक्रबार विहान कालिञ्चोक गाउँपालिका ३ स्थित बन्चरे नजिकै पार्किङ गरि राखिएको बा २ ख ८३९ नम्बरको यात्रुबाहक बसका सहचालक दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ३ महताराका नारायण बहादुर खत्री सोही बसमा मृत भेटिएका थिए । उक्त घटना शंकास्पद भएको भन्दै मृतकका परिवार तथा आफन्तजनले शुक्रबार र आईतबार सिङ्गटी–चरिकोट सडक खण्ड अवरुद्ध पारेका थिए । घटनाको निष्पक्ष छानविन र पीडित परिवारलाई उचित क्षतिपुर्तिको प्रबन्ध नमिलाएसम्म आन्दोलन जारी राख्ने र शव पनि नबुझ्ने अडानमा रहेका पीडित पक्ष सोमबार सांसद कार्कीको रहोबरमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधी, अरनिको यातयातका प्रतिनिधि समेतको उपस्थितीमा जिल्ला प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा आएको हो ।
यसैबीच सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ । अहिले घटनाको सम्बन्धमा अनुषन्धान सुरु गरिएको र पोष्टमार्टमको रिपोर्ट आएपछि थप विवरण खुल्ने दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिए ।



