काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको नयाँ केन्द्रिय समितिमा दोलखाबाट ७ जना नेताहरू अटाएका छन् ।
काठमाण्डौमा शुक्रबार सम्पन्न उक्त सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनबाट दोलखाले तीन केन्द्रिय सचिव र ४ केन्द्रिय सदस्य पाएको हो । निर्वाचित हुने तीन केन्द्रिय सचिवमा माओवादी दोलखाका तीन युवा नेताहरू मिन कुमार शिवाकोटी, नवराज अर्याल र छिरिङ थोकर रहेका छन् । त्यस्तै केन्द्रिय सदस्यमा विनोद घिमिरे, दिनेश शिवाकोटी, रुरल यम (मणिका) र युवराज खत्री निर्वाचित भएका छन् । यद्यपी आधिकारिक घोषणा हुन भने बाँकी छ ।


गत आइतबारदेखि सुरु भएको सम्मेलनले वाईसिएलको केन्द्रिय अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाहीलाई सर्वसम्मत चयन गरेको छ । नेतृत्व चयनमा रस्साकस्सी भएको वाईसिएलको तेस्रो राष्ट्रिय सम्मेलन अझै पनि सकिएको छैन । ३६१ सदस्सीय नेतृत्व चयन सर्वसम्मत गर्ने प्रयत्न भइरहेकाले सम्मेलन लम्बिएको हो । सर्वसम्मत गर्न पदाधिकारी सङ्ख्या बढाएर भए पनि प्रयत्न गर्ने र शनिबार साँझसम्म सहमति जुट्ने अपेक्षा गरिएको वाईसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जनतापेजलाई जानकारी दिए ।
