चरीकोट, ०६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दोलखा जिल्लामा १४ ओटा दल र स्वतन्त्र गरी ३३ जनाले उम्मेद्वारी दिएका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लगायत १४ ओटा दलका १४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपाबाट विशाल खड्का, एमालेबाट पार्वत गुरुङ, रास्वपाबाट जगदिश खरेल, राप्रपाबाट प्रविणकुमार थोकरले मनोनयन दर्ता गराएका छन् ।


मनोनयन दर्ता गराउनेमा पुराना र संसदीय अभ्यासमा अनुभवी दलदेखि यसै पटकको निर्वाचनमा स्थापना भएका श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी पनि रहेका छन् । श्रम संस्कृति पार्टीबाट हेप बहादुर थामी र उज्यालो नेपाल पार्टीबाट निमा दोर्जे लामा मैदानमा उत्रिएका छन् । त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनबाट कुमार तामाङ्ग, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कमल खत्री, जनता समाजवादी पार्टीबाट गोपाल नेपाली, नेकपा (माओवादी) बाट राज कुमार लामिछाने, नेपाल मजदुर किसान पार्टीबाट विमला श्रेष्ठ, राष्ट्रिय परिवर्तन पार्टीबाट शुदर्शन कार्की, आम जनता पार्टीबाट सुक्र तामाङ्गले मनोनयन दर्ता गराएका मूख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बाँकी १९ जना स्वतन्त्र समेत गरी ३३ जनाको मनोनयन दर्ता भएकोमा महिलाको सङ्ख्या भने ४ मात्रै रहेको छ ।
मनोनयन दर्ता अघि अधिकांश प्रमुख दलहरुले शक्ति प्रदर्शनकै शैलीमा र्याली निकालेका थिए भने कतिपय साना दलहरुले केही व्यक्ति मात्र उपस्थित भइ मनोनयन दर्ता गराएका थिए । सबै दलको र्याली र कोण सभालाई नियालेका मानिसहरुले पत्रकारहरुसँगको अफ द रेकर्ड कुराकानीमा उम्मेद्वार जतिसुकै भए पनि प्रमुख रुपमा मूख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने लख काटे । जसमा विगतको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको मत केही हजारले वृद्धि हुने यद्यपी उक्त दल बिजयको प्रतिस्पर्धामा नआउने उनीहरुको आँकलन थियो । त्यस्तै टिकट विवादले थलिएको कांग्रेस पनि नेकपा र एमालेको तुलनामा कमजोर रहेको लख काट्नेहरु पनि उत्तीकै थिए । उनीहरुका अनुसार बिजयी हुने दल विगतको जस्तो धेरै ठूलो मतान्तरले बिजयी नहुने र त्यसका लागि तयारी र रणनीति पनि सोही अनुसारको बनाउनुपर्ने छ ।



