सिङ्गटी, ३१ भदौ । ताइवानी नागरिक चाङ यु आङ (एमी) आइतबार दोलखाको सिङ्गटी स्थित कालिनाग माध्यमिक विद्यालय परिसर आइपुगिन् । ताइवानकी समाजसेवी कालिनाग माविको भ्रमणका लागि भने आएकी होइनन् ।
उनी कालिनाग माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्न आएकी हुन् । एमी सहितको टोलीले त्यहाँ कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ६० जना बालबालिकालाई जनही ९५५० रुपैयाँ नगद, शैक्षिक सामाग्री र ब्लाङ्केट हस्तान्तरण गरेको छ ।
आफूहरुको शैक्षिक प्रगतीका लागि सहयोग गरेकोमा विद्यार्थी र अभिभावकहरुले खुसि व्यक्त गरे । उनीहरुले आगामी दिनमा पनि यो सहयोग कायम रहने विश्वास व्यक्त गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा एमीले पनि विद्यार्थी र अभिभावकहरुसँग खुसि साट्दै ताइवानी नागरिकहरु नेपालका गरिब, अनाथ र जेहेन्दार विद्यार्थीहरुको साथमा रहने तर विद्यार्थी र अभिभावकरुले आफूहरुलाई निराश पार्न नहुने धारणा राखिन् । उनले अभिभावकहरुलाई पनि बालबालिकाका लागि आएको रकम अन्यत्र खर्च नगरिदिन अनुरोध गरिन् ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले विगतका केही वर्षदेखि आफ्ना विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै एमी लगायतको टोलीलाई सम्मान पत्रद्वारा सम्मान गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाठकले एमी लगायत ताइवानी नागरिकको सहयोगबाट धेरै बालबालिकाहरुको शैक्षिक भविष्य सुनिश्चित भएको भन्दै खुसि र धन्यवाद व्यक्त गरे ।
उक्त सहयोग हस्तारन्तरणको मध्यस्थता दोलखाको गौरीशङ्कर गाउँपालिका ९ का भक्त बहादुर ठकुरीले गर्दै आएका थिए । ठकुरीका अनुसार यस पटक दोलखाका ९ र धादिङका ६ विद्यालयका ५६४ जना विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराइनेछ । ताइवानी नागरिकको तर्फबाट विगत केही वर्षदेखि ती विद्यालयहरुमा विद्यार्थीहरुलाई छात्रवृत्ति रकम र शैक्षिक सामाग्री उपलब्ध गराइँदै आएको छ । विगतका वर्षमा एमीले सहयोग रकम मात्रै पठाउँदै आएकोमा यसपटक उनी आफ्ना केही सहयोगी सहित धादिङ र दोलखाका विकट वस्तीमा रहेका विद्यालयहरुमा पुगेर विद्यार्थीहरुसँग खुसि बाँडिरहेकी छिन् ।