सिङ्गटी, १८ जेठ । सुख्खा पहिरोका कारण थुनिएको दोलखाको तामाकोशी नदी सामान्य लयमा बग्न थालेपछि आशङ्का गरिएको सङ्कट टरेको छ ।
शुक्रबार विहान करिव साँढे १० बजे विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको माथिल्लो तामाकोशीको बाँधस्थल (ड्याम) भन्दा माथि क्यालु खोला र देउरालीको बीचबाट सुख्खा पहिरो खस्दा तामाकोशी नदी थुनिएको थियो । तर दिउँसो करिव २ बजेबाट थुनिएको ठाउँबाट तामाकोशीले आफ्नो धार पहिल्याउँदै सामान्य लयमा बग्न सुरु गरेको बिगु गाउँपालिकाका अध्यक्ष सन्जीव ओलीले जनतापेजलाई जानकारी दिए । पहिरोले नदी नै थुनिएपछि सम्भावित जोखिमलाई लिएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको थियो । यद्यपी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम भन्दा माथिको घटना भएकाले जोखिम न्युनिकरणका लागि ड्यामबाटै पानी व्यवस्थापन हुनसक्ने अवस्था समेत रहेको थियो । सो आयोजनाको ड्याम बाह्र लाख घनमिटर पानीको भारबहन गर्न सक्ने क्षमताको रहेको छ ।
यसैबीच, पहिरोका कारण बाटो भत्किँदा लप्चीबाट लामावगरतर्फ आउने पर्यटक लगायतका झण्डै पचास जना पैदलयात्री अलपत्र परेका छन् । अहिले पनि निरन्तर पहिलो खसिरहेकाले लप्चीबाट लामाबगर आउन र जान रोक लगाइएको छ । अलपत्र परेकाहरुको उद्धारको प्रयास भइरहेको अध्यक्ष ओलीले बताए ।