वर्षायाममा खेतबारी, वनजङ्गल लगायतका ठाउँहरुमा च्याउ उम्रने गर्दछ । विशेषगरी घाँस, पराल, स्याउला, सोतर, गाई भैसीको गोबर आदि कुहिएर बनेको प्राङ्गारिक पदार्थ बढी भएको स्थान, धमिराको देवल, ओसिलो ठाउँमा रहेको काठका मुढा आदिमा च्याउ उम्रने वा पलाउने गर्दछ । सार्थ पछिल्लो केही वर्ष यता च्याउका विभिन्न प्रजातीहरुको व्यवसायिक खेती पनि हुँदै आएको छ ।
गाउँघरमा लामो समय पानी परेपछि वा ठूलो पानी परेपछि खेतबारी, वनजङ्गल, पाखाभित्तामा च्याउ उम्रियो कि भनेर स सना केटाकेटी देखि बुढापाका समेत हातमा कुटो कोदालो बोकेर च्याउ खोज्न हिड्ने गरेको हामीले देख्दै आएका छौँ । कतिपयलाई च्याउको बासना र स्वाद मन नपरे पनि धेरै जसो मानिसलाई च्याउको तरकारी असाध्यै मन पर्दछ । वर्षातको समयमा ठाउँ अनुसार देवले, बगाले, डल्ले, मुढे, कालिङ्गे, ढिडे, छाते, रातो लगायत थुप्रै प्रजातिका च्याउहरु पाइन्छन् । तर हाम्रो खेतबारीमा उम्रने वा पलाउने सबै प्रजातिका च्याउहरु खान योग्य हुँदैनन् ।
कुन च्याउ खान हुने र कुन खान नहुने भनी छुट्याउन नसकि जुन पायो त्यही च्याउ खानाले वर्षायामको समयमा नेपालमा धेरै मानिसहरुले अकालमा ज्यान समेत गुमाउनु परेको छ भने कतिपय अस्पताल भर्ना भएर मुस्किलले ज्यान बाँचेको समाचारहरु हामीले सुन्दै, पढ्दै र देख्दै आएका छौँ । खान नहुने खालका जङ्गली विषालु च्याउ खाएमा च्याउमा पाइने विषालु पदार्थको कारण मानिसहरुको मृत्यु हुने वा बिरामी पर्ने गर्दछन् । झट्ट हाम्रो आँखाले हेरेको भरमा कुन च्याउ खान हुने र कुन च्याउ खान नहुने हो भनी छुट्याउन गाह्रो हुन्छ किनभने धेरैजसो च्याउको रङ, बासना, आकार प्रकार र बनावट एकै प्रकारको हुने गर्दछ । यही कुरामा मानिसहरु प्रष्ट नहुँदा जङ्गली विषालु च्याउको सेवनले वर्षेनी कयौँको ज्यान जाने गरेको छ ।
वास्तवमा च्याउ विषालु हो वा होइन भनी छुट्याउनको लागि विशेषज्ञले प्रयोगशालामा राखेर रासायनिक परिक्षण गरेपछि थाहा पाउन सकिन्छ । तर हाम्रो गाउँघरमा पहिलेदेखि चलेको चलन, परम्परा, देखासिकी आदिको कारण च्याउको गुण नचिनी खाने चलन रहँदै आएको छ, फलस्वरुप गम्भिर नतिजाको सामना पनि गर्नुपरेको छ । विषालु च्याउको सेवनले टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने, जिव्रो सुन्निने, कलेजो विग्रने, हात खुट्टा झमझमाउने वा निदाउने, मृगौलाले काम नगर्ने, स्वास फेर्न गार्हो हुने, मष्तिकले राम्रोसँग काम नगर्ने,आँखाको दृष्टि कमजोर हुने, रक्तसञ्चारमा अवरोध सिर्जना हुने, जस्ता लक्षणहरु देखा पर्ने गर्दछ । यस्तो अवस्थामा समयमै च्याउको विषाक्त प्रकृति पत्ता लगाएर उपचार गर्न नसके मानिसको मृत्यु समेत हुने गर्दछ ।
त्यसैले आफूलाई प्रष्ट रुपमा पहिचान भएको र व्यवसायिक रुपमा उत्पादन गरिएको च्याउ बाहेक बाहिरी वातावरण जहाँ पायो त्यहाँ उम्रिएका वा पलाएका, जुन पायो त्यही च्याउ नखानु नै ठुलो बुद्दिमानी हुनेछ । आफूले पहिचान गरेको च्याउ खाँदा पनि च्याउलाई तरकारी बनाउनु भन्दा पहिले राम्ररी उमालेको तातो पानीमा थोरै टिम्मुर राखेर त्यो पानीले राम्रो सँग सफा गर्ने ,केही समय पानीमा नै डुपाएर राख्ने र तरकारी पकाउँदा पनि थोरै टिम्मुर राखेर पकाएर खाएमा थप सुरक्षित रहन सकिन्छ ।


