काठमाण्डौ, १७ कार्तिक । संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पराजित गर्दै नेपालले १० वर्षपछि टी-२० विश्वकप क्रिकेटको यात्रा तय गरेको छ ।
शुक्रबार काठमाण्डौ स्थित मूलपानी क्रिकेट मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले २ विकेटको क्षतीमा १७ ओभरमै पूरा गर्दै आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाललाई जित दिलाउनका लागि असिफ सेखले अविजित ६३ रनको योगदान गरे भने कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको युएईलाई १३४ रनमा रोक्नका लागि नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिएका थिए भने सन्दिप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिएका थिए ।
योसँगै नेपालमा भएको छनोट खेलबाट नेपाल र ओमान विश्वकपका लागि छनोट भएका छन् । कुल २० राष्ट्रले सहभागिता जनाउने टी-२० विश्वकपका लागि हालसम्म १८ राष्ट्र छनोट भइसकेका छन् ।