सिङ्गटी, २८ माघ । दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ सिङ्गटी स्थित कालिनाग माविको ४० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहको कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले उद्घाटन गरेका थिए । समारोहमा विद्यालयका प्रधानाध्यापक तेजबहादुर खत्रीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र लेखा सहायक प्रविन खत्रीले गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाठकको अध्यक्षतामा सम्पन्न समारोहमा वडा सदस्य पृथ्वी प्रसाद शिवाकोटी, प्रताप स्मृति कलेजका सहायक कलेज प्रमुख रोशन कार्की, समाजसेवी कुमार खड्का, विद्यालयका निवर्तमान प्रधानाध्यापक दाताराम नेपाल, पूर्व शिक्षक दिलकृष्ण मल्ल ठकुरी, रोल्वालिङ सामुदायिक अस्पतालका सञ्चालक सुब्बा खड्का, लगायत सरोकारवालाहरुले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रमका अवसरमा विद्यालयको शैक्षिक तथा खेलकुद लगायत विभिन्न गतिविधिहरुमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थालाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै विद्यालयमा उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने विभिन्न तहका शिक्षकहरुलाई सम्मान गरिनुको साथै सातौँ कालिन्चोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डका बिजेता विद्यार्थी, विद्यालयको आन्तरिक अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थी, उत्कृष्ट सिकाइ हासिल गर्ने विद्यार्थी लागतयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै कार्यक्रमकै अवसरमा लोकराज आचार्यले स्थापना गरेको अक्षयकोष अन्तर्गतको छात्रवृत्ति वितरण गरिनुको साथै विद्यार्थी, शिक्षक एवम् अभिभावकहरुको विभिन्न रोमान्चक साँस्कृतिक कार्यक्रम तथा खेल समेत आयोजना गरिएको थियो ।



