चरिकोट, २५ माघ । अन्ततः पोलिट ब्युरो सदस्य पार्वत गुरुङले एमाले दोलखाको निर्वाचन जितेका छन् । मतलब उनको समर्थन रहेको भनिएका अध्यक्षका उम्मेद्वार नर बहादुर श्रेष्ठ खुल्ला उपसचिव बाहेक पूरै पदाधिकारी सहित अध्यक्षमा निर्वाचित भए ।
उनले प्रतिद्वन्द्वी अर्थात एमालेका अर्का पोलिट ब्युरो सदस्य आनन्द प्रसाद पोखरेल खेमाका इश्वरचन्द्र पोखरेलको भन्दा ९५ बढी अर्थात ३३३ मतका साथ अध्यक्षको कार्यकाल दोहोर्याए । पोखरेलले २३८ मत पाउँदा अध्यक्षका अर्का प्रत्याशी (जो बिना कुनै खेमा स्वतन्त्र उम्मेद्वारका रुपमा उठेका थिए) भरत प्रसाद दुलालले जम्मा ३८ मत मात्रै प्राप्त गरे ।
एमाले दोलखाको उपाध्यक्षमा गुरुङ समूहकै राजेन्द्र मानन्धर विजयी भएका छन् । उनले एमाले दोलखाका अर्का अट्र्याक्टिभ फिगर हिरा कुमार तमाङलाई ७३ मतले उछिन्दै ३३६ मतका साथ बाजी मारे । त्यस्तै सचिव पदमा पनि पोखरेल खेमाका कृष्ण बस्नेतलाई गुरुङ खेमाका स्वयं बहादुर खड्काले निराश पारे । खड्काको ३०४ मत आउँदा बस्नेतले २८४ मत पाए ।
दुई ओटा उपसचिव पद तर्फ भने पोखरेल र गुरुङ खेमाले एक/एक सिट बाँडेका छन् । खुल्ला उपसचिव तर्फ पोखरेल खेमाका हरि ओली १६१ मतले बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी बिदुर शर्माले १४५ मत प्राप्त गरे । उपसचिव महिला तर्फ भने गुरुङ खेमाकी कमला बस्नेत २७७ मतका साथ निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी मेनुका सुवेदीले १९५ मत प्राप्त गरिन् ।
माघ २२ गतेबाट सुरु भएको एमाले दोलखाको दशौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भएको भनिए पनि अन्ततः निर्वाचनबाटै टुङ्गोमा पुगिएको हो । खासगरी जिल्लाको नेतृत्व लिने सवालमा एमालेका पोलिट ब्युरो सदस्यद्वय गुरुङ र पोखरेल गुटबीच रस्साकस्सी हुँदा सहमति भाँडिएको एमालेजनहरु बताउँछन् । गुरुङ खेमाले अधिवेशन सुरु हुनुभन्दा अघिदेखि नै क्लिन स्विपको रटान लगाउँदै आएको थियो ।
दोलखा एमालेमा गएको स्थानीय तह निर्वाचन तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीका उम्मेद्वारले अधिकांश ठाउँमा हार व्यहोरेपछि अन्तरद्वन्द्व चुलिएको हो । स्थानीय तह निर्वाचनमा आकर्षक मतका साथ मेलुङ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचत हिराकुमार तमाङले प्रतिनिधि सभा निर्वाचनका क्रममा बालकृष्ण शिवाकोटीलाई सहयोग नगरेको आरोप लगाइदै आएको थियो । त्यसैको बदला स्वरुप अहिलेको अधिवेशमा शिवाकोटी आफै तमाङलाई हराउन हात धोएर लागि परेको स्रोतको भनाइ छ ।