चरीकोट, २० कात्तिक । सरकारले विहिबार र शुक्रबार (कात्तिक २० र २१ गते) देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।
६ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाउन लागिएको हो । देशभरका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए । यो अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते नेपालमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते तिहार पर्व परेकाले कात्तिक २० र २१ मा कार्यक्रम सारिएको हो।



