काठमाण्डौ, १३ असार । चालु आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम यही कार्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।
विगतका वर्षहरुमा कार्तिक २ र ३ गते नै सञ्चालन हुने गरेको उक्त कार्यक्रम यस वर्ष दशैँ परेकाले १७ र १८ गते सञ्चालन हुन लागेको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने छ । यस वर्ष देशभरका करिब २७ लाख बालबालिकालाई भिटामिन ए र करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यसका लागि सातवटै प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय तहहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक परिपत्र गरिसकिएको र आवश्यक तयारी समेत अन्तिम चरणमा पुगिसकेको जनाइएको छ ।
बालबालिकाहरुमा हुन सक्ने स्वास्थ्य समस्या तथा कुपोषणको जोखिम कम गर्नको लागि सरकारले २०५० सालदेखि नियमितरुपमा भिटामिन ए र २०५६ सालदेखि जुकाको औषधि खुवाउँदै आएको छ । प्रत्येक वर्ष कात्तिक र बैशाख महिनामा बालबालिकाहरुलाई निशुल्क भिटामिन ए र जुकाको औषधि खुवाउने गरिएको छ ।