सिङ्गटी, २८ भदौ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा गुडिरहेको बोलेरोमा माथिबाट ढुङ्गा खस्दा एक वृद्धको मृत्यु भएको छ ।
आइतबार बिहान मार्बु–चङ्खु–भोर्ले सडकअन्तर्गत गौरीशङ्कर गाउँपालिका–६, चङ्खुको दुम्सिदिङ सडकमा गुडिरहेको बागमती प्रदेश ०८–००१ च ०८८२ नम्बरको बोलेरोमा माथिबाट ढुङ्गा खसेर लाग्दा गौरीशङ्कर–६ का ६८ वर्षीय मानबहादुर तामाङ गम्भीर घाइते भएका थिए ।
घाइते तामाङलाई स्थानीय सिङ्गटी बजारमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । शिक्षण अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

चङ्खुबाट सिङ्गटीतर्फ आउँदै गरेको बोलेरोमा सडक माथिबाट ठूलो ढुङ्गा खसेर लागेको थियो । ढुङ्गाले लाग्दा बोलेरोमा समेत क्षति पुगेको छ। घटनामा बोलेरो चालक टीका गुरुङ सामान्य घाइते भएका छन् ।
बोलेरोमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ ।


