भक्तपुर, १३ असार । २०८१ सालमा सञ्चालित एसईई परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक भएको छ ।
प्राप्त नतिजा अनुसार कुल परीक्षार्थी मध्ये ६१.८१ प्रतिशत वर्गिकृत (ग्रेडेड) भएका छन् । जसमा ४८,१७७ ले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् भने ८१,३८५ ले ३.२ देखि ३.६ जिपिए र ८९,१२४ ले २.८ देखि ३.२ जिपिए प्राप्त गरेका छन् । त्यसैगरी ४८,४७९ ले २.४ देखि २.८ जिपिए, ४,१२६ ले २ देखि २.४ जिपिए र ८ जनाले १.६ देखि २ जिपिए प्राप्त गरेका छन् । एक लाख ६७ हजार ५९७ जना परीक्षार्थी अवर्गिकृत अर्थात ननग्रेडेड भएका छन् भने १२६ जना परीक्षार्थीको परीक्षा नै रद्ध भएको बोर्डले जनाएको छ ।
गत चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट ४ लाख ९९ हजार १८३ जना परीक्षार्थी सहभागी भएका थिए । प्राप्त नतिजा गत वर्षको तुलनामा बढी हो । गत वर्ष ४७. ८६ प्रतिशत मात्रै उत्तीर्ण भएकोमा यो वर्ष १३.९५ प्रतिशतले बढेर ६१.८१ प्रतिशत उत्तीर्ण भएको हो ।
यसैबीच ननग्रेडेड विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी साउन २९ गतेदेखि गर्ने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले तालिका भने पछि सार्वजनिक गरिने जानकारी दिए ।


