दोलखा, ०२ मंसिर । दोलखाको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ ।
एकाईगत रुपमा सम्पन्न हुनेगरी सुरु भएको साधारण सभा अन्तर्गत शनिबार दोलखाका ११ र सिन्धुपाल्चोकको १ गरी १२ ओटा स्थानमा क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । शनिबार दोलखाको मागापौवा, काटाकुटी, फस्कु, नाम्दु–क्षेत्रपा, मैनापोखरी, सुनखानी, बाबरे, हिलेपानी, सिङ्गटी, लिङ्बा–सोईसाङ र थामीचागु तथा सिन्धुपाल्चोकको लिसंखुपाखर क्षेत्रका सदस्यहरुले साधारण सभामा उपस्थिती जनाएका छन् । साधारण सभामा साकोसका सञ्चालक एवं उपसमितिका सदस्यहरु बाँडिएर परिचालित भएका छन् ।
मिलिजुली कालिञ्चोक साकोसको साधारण सभाको दोस्रो एकाई अन्तर्गत आगामी मंसिर ९ गते शनिबार जिल्लाको भीमेश्वर नगरपालिका क्षेत्रका ८ स्थानमा साधारण सभा सम्पन्न हुनेछ भने मंसिर १६ गते शनिबार काठमाण्डौमा साधारण सभा हुनेछ । साधारण सभासँगै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन समेत हुने कार्यक्रम रहेकोमा सबै पदमा निर्विरोध भइसकेकोले साधारण सभाको अन्तिम तथा केन्द्रिय साधारण सभाबाट सो कुराको घोषणा हुनेछ ।
दोलखा सदरमुकाम चरिकोटका मूख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले दोलखा, सिन्धुपाल्चोक र काठमाण्डौ जिल्लाभर कार्यक्षेत्र बनाएर ११ ओटा सेवाकेन्द्र मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ । झण्डै ३५ हजार सदस्य आवद्ध उक्त साकोसको आ.व. २०७९/८० को अन्तसम्मको कुल सम्पति १ अर्ब २६ करोड १० लाख रहेको छ । गत असार मशान्तसम्म ९८ करोड २९ लाख रकम ऋण लगानी गरेको संस्थाले सो आ.व. मा ५७ लाख ८० हजार मुनाफा आर्जन गरेको छ ।