मैनापोखरी, ०१ कार्तिक । दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा शनिबारबाट सम्पन्न भएको छ । गत असोज २१ गते मङ्गलबारदेखि सुरू भएको एकाइगत साधारण सभाका प्रतिनिधिहरूको सभा पश्चात साधारण सभा सम्पन्न भएको हो ।
विभिन्न सेवाकेन्द्रमा सम्पन्न एकाइगत साधारण सभाबाट छानिएर गएका प्रतिनिधि, बैतेश्वर गाउँपालिकाका विभिन्न जनप्रतिनिधीहरू, सरोकारलावाहरू, लगायत सहभागि प्रतिनिधिमूलक सभाको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले उद्घाटन गरेका थिए । सभामा संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायत विभिन्न प्रतिवेदनहरू उपस्थित प्रतिनिधिहरूको हस्ताक्षरबाट पारित भएको छ । सञ्चालक समितिको प्रतिवेदनमा जनसचेतन साकोस सहकारीको सिद्धान्त, मूल्य, मान्यता तथा संस्थाको विनियम र त्यसले निर्माण गरेका नीति तथा कार्यविधिहरूको परीधिभित्र रही सुशासनमा आधारित उत्कृष्ट साकोस निर्माण गरी सदस्यहरूलाई समृद्ध बनाउने अभियानमा कटिवद्ध रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाको चुक्ता शेयर पूँजी १५ करोड, ६२ लाख ४३ हजार १ सय पुगेको छ । त्यस्तै संस्थामा कुल १ अर्ब ८० करोड ८ लाख ९६ हजार ८९७ बचत निक्षेप सङ्कलन भएको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.७७ प्रतिशतले कम हो । संस्थाबाट प्रवाह ऋणमा पनि अघिल्लो वर्षको तुलनामा ३.१२ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ अब ६८ करोड १५ लाख ऋण लगानी रहेकोमा गत आवमा ८४ करोड ३४ लाख लगानी र ८९ करोड ७५ लाख असुली गरी २०८२ असार मशान्तसम्म १ अर्ब ६३ करोड ६८ लाख लगानीमा रहेको प्रतिवेदनमा उल्लेख छ । सदस्यबाट सङ्कलित पूँजी मात्रै परिचालन गर्ने रणनीति अवलम्बन गरेको जनसचेतन साकोसमा बाह्य ऋण भने अघिल्लो आर्थिक वर्षदेखि नै शुन्य रहँदै आएको छ ।
प्रतिवेदन अनुसार संस्थाको समग्र आय–व्ययमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य कमी आएको छ । यो वर्ष जनसचेतन साकोसको कुल आम्दानी १७ करोड ७६ लाख ६७ हजार २०५ रूपैयाँ भएको छ जुन अघिल्लो वर्षको तुलनामा २१.६२ प्रतिशतले कम हो । त्यस्तै खर्च पनि अघिल्लो वर्षको तुलनामा १९.३८ प्रतिशतले कमी भएको छ । यो वर्ष कुल १८ करोड ७५ लाख ३० हजार ६७७ रूपैयाँ खर्च भइ १ लाख ३६ हजार ५२७ रूपैयाँ मात्रै मुनाफा भएको प्रतिवेदनमा उल्लेख छ ।

सभाको अवसर पारेर संस्थाकाले उत्कृष्ट कार्यसम्पादन गर्ने सेवाकेन्द्र र कर्मचारीहरूलाई सम्मान गरेको छ । उत्कृष्ट सेवा केन्द्रको रूपमा शैलुङ सेवाकेन्द्र र उत्कृष्ट कर्मचारीको रूपमा सुन्दर केसी, बिमला बराइली र मेनुका थामीलाई सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जनतापेजलाई जानकारी दिए ।

२०५० साल असोज २२ गते स्थापना भएको जनसचेतन साकोसमा हाल २७,५५३ शेयर सदस्य र ९,१२६ बाल बचतकर्ता रहेका छन् । उक्त सहकारीले दोलखा र राजधानी काठमाण्डौमा समेत गरी १६ ओटा सेवा तथा सङ्कलनकेन्द्र मार्फत वित्तिय सेवा प्रवाह गर्दै आएको छ ।



