दोलखा, १३ असार । बिहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दोलखा जिल्लाबाट एक तिहाइ मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् ।
जिल्लाभरबाट परीक्षामा सहभागि भएका २६३० जना विद्यार्थी मध्ये ३५.०५ प्रतिशत अर्थात ९२२ जना मात्रै विद्यार्थीहरु उत्तीर्ण भएका छन् । कुल परीक्षार्थीमा १७०८ जना ननग्रेडेड भएका छन् । ती मध्ये २ विषयमा मात्रै ननग्रेड (एनजी) पाउनेहरुले मौका परीक्षा दिन पाउनेछन् ।
दोलखामा उत्तीर्ण भएका मध्ये ३.६ देखि ४ जिपिए प्राप्त गर्ने २१ जना भए पनि ४ जिपिए नै भने कसैले पाएका छैनन् । दोलखामा ३.९१ जिपिए प्राप्त गरेकी सरस्वती मावि जिरीकी छात्रा रमिला जिरेल जिल्ला प्रथम भएकी छिन् भने अल्पाइन पब्लिक स्कुल चरिकोटकी अदिश्री थापा ३.८३ जिपिए सहित जिल्ला द्वितिय र गौरीशङ्कर मावि जगतका प्रदिप श्रेष्ठ ३.७८ जिपिएका साथ तेस्रो स्थानमा रहेका छन् ।
दोलखामा ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने २२८ जना, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने ४२०, २.४ देखि २.८ जिपिए प्राप्त गर्ने २४० र २.० देखि २.४ जिपिए प्राप्त गर्ने १३ जना रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
यो वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको बोर्डले सैद्धान्तिक तर्फ ७५ पूर्णाङ्कको ३५ प्रतिशत अर्थात २६.२५ अङ्क नल्याउने परीक्षार्थीलाई ननग्रेड (एनजी) दिएको छ, जसमध्ये २ ओटा विषयमा एनजी आएकाहरुले ग्रेडवृद्धिको मौका परीक्षा दिन पाउनेछन् । २ भन्दा बढी विषयमा एनजी पाएकाहरुले भने अर्काे एसइई परीक्षा कुर्नुपर्नेछ । यस पटकको ग्रेडबृद्धि परीक्षा आउँदो साउन १८ र १९ गते हुनेछ ।