सिङ्गटी, ०९ असार । दोलखाको गौरीशङ्कर गाउँपालिकाको १७ औँ गाउँसभा सोमबार सम्पन्न भएको छ ।
गाउँसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड २२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष उमा लुङ्गेली मगरले ६४ करोड २२ लाख ६९ हजार बराबरको बजेट सार्वजनिक गरिन्, जसमा संघ र प्रदेशबाट ५० करोड भन्दा बढीको प्रक्षेपण गरिएको छ ।
प्रस्तुत बजेटमा वडागत योजनाका लागि ४ करोड ६० लाख छुट्याइएको छ भने शिक्षा, युवा र खेलकुद तर्फ २ कारोढ नब्बे लाख, गाउँपालिका स्तरीय योजनाका लागि १ करा्ड ५० लाख, स्वास्थ्य र कृषि तर्फ समान ९०/९० लाख, विपद् व्यवस्थापन तर्फ ५० लाख र ज्येष्ठ नागरिक तर्फ ३० लाख बजेट विनियोजन गरिएको छ । बजेटमा गाउँपालिकाका प्रमुख सडकहरू भोर्ले–सुरीडाँडा (गाउँपालिकाको कार्यालय) कालोपत्रे एवम् भोर्ले–गुरूम्फी–मार्बु सडक, जगतफेदी–टासिनाम सडक, पिखुती–रेसम डाँडा–हनुमन्ते सडक आदिको स्तरोन्नतीलाई प्राथमिकता दिइएको छ । त्यस्तै गौरीशङ्कर गाउँपालिकालाई विगु गाउँपालिकासँग जोड्ने तामाकोशी नदी अन्तर्गत दुई ओटा सडक पुल (जगत–टासिनाम र सिङ्गटी–झाङ्ग्राली) तथा गाउँपालिका भित्रको पिखुती–झ्याँकु सडक पुलको काम थालनी गर्ने विषय पनि बजेटमा उल्लेख गरिएको छ ।

गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष कार्कीले आगामी आव मा एक वडा एक मूख्य सडक, एक वडा एक उत्पादन, गाउँगाउँमा अभिभावक शिक्षा–घरघरमा समिक्षा, प्रत्येक वडामा विशेषज्ञ सहितको स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम गाउँपालिकाको प्राथमकितामा रहेको जानकारी दिए । गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी, गाउँपालिका अन्तर्गतका वडाअध्यक्षहरू, गाउँसभा सदस्यहरू, वडा सदस्यहरू आदिको उपस्थिती रहेको थियो । (तस्बीरहरूः बलराम खड्का ‘जीवन’)




