दोलखा, २८ कार्तिक । मङ्गलबार एकादशीको फूल तार्ने क्रममा तामाकोशी नदिमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।
मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी जामुनेका दान बहादुर बुढाथोकीका छोरा २२ वर्षका राजेन्द्र बुढाथोकी मृत भेटिएका हुन् । उनी छिमेकी डिल्ली बुढाथोकीले हरिबोधनी एकादशीका अवसरमा तामाकोशी नदिमा फूल तार्ने काममा सहभागि हुन स्थानीय चैतेघाट भन्ने ठाउमा पुगेका थिए ।
मङ्गलबार फूल तार्ने क्रममा बेपत्ता भएका उनको शव बुधबार सशस्त्र प्रहरीको गोतखोर टोलीको सहायतामा भ्याकुरे दोभानमा भेटिएको गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिनुभयो । उपाध्यक्ष आचार्यका अनुसार स्थानीय र प्रहरी मिलेर खोजी गर्दा नभेटिएपछि गाउँपालिकाले गोताखोर टोली झिकाएको हो ।