दोलखा, ०५ भदौ । दुवै मृगौला फेल भएर उपचाररत आफ्नो एक विद्यार्थीलाई दोलखाको कालिञ्चोक ३ स्थित कालिनाग माध्यमिक विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी १६ वर्षिया रोजिना श्रेष्ठको उपचारका लागि विद्यालयका शिक्षक र विद्यार्थीहरुबाट सङ्कलित ७१ हजार ५०५ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो । मङ्गलबार विद्यालयको प्रार्थना सभाको अवसरमा विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले मृगौला पिडित किशोरीका बाबु गोपाल श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक तेजबहादुर खत्रीले जनतापेजलाई जानकारी दिए ।
जिल्लाको विगु ४ स्थायी घर भएकी श्रेष्ठ विगत ६ वर्ष अघिदेखि मृगौला सम्बन्धी रोगबाट पिडित भइ राजधानी स्थित शिक्षण अस्पतालमा उपचाररत रहेकोमा निकट भविष्यमै मृगौला प्रत्यारोपणको तयारी भइरहेको छ ।
स्थानीय सिङ्गटी बजारमा सामान्य व्यवसाय गर्ने पिडित किशोरीका बाबु गोपालले हालसम्म छोरीको उपचारमा निकै रकम खर्च भएको र अब थप उपचारका लागि आर्थिक अभाव भएको गुनासो गरे । उनका अनुसार छोरीको मृगौला प्रत्यारोपणका लागि करिव २० लाख रुपैयाँ खर्च लाग्ने जानकारी अस्पतालले गराएको छ । श्रेष्ठ परिवारले आफ्नी छोरीको जिवन रक्षाका लागि सबैसँग सहयोगको अपिल गरेको छ ।