दोलखा, १५ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सरकारले समेत रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको जनाउँदै राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सहयोग गर्न भदौ १० गते सार्वजनिक अपिल गरेको थियो ।
संस्थाका अनुसार सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिसहितका पदाधिकारी तथा कर्मचारीबाट प्राप्त योगदान र संस्थाको तर्फबाट थप गरिएको रकम गरी कुल रु. २ लाख ५५ हजार ५ सय ५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । सहकारीले आफ्ना विभिन्न समितिबाट प्राप्त हुने बैठक भत्ता तथा कर्मचारीबाट दुई दिनको तलब बराबरको रकममा संस्थाको तर्फबाट थप गरी विपद्का बेला सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जनतापेजलाई जानकारी दिए ।
बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको उक्त सहयोगले विपद्का बेला संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता उजागर भएको छ ।
वि.सं. २०५० सालदेखि सञ्चालनमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय वैतेश्वर गाउँपालिका–५, मैनापोखरी, दोलखामा रहेको छ। संस्थाले बचत तथा ऋणसँगै डिजिटल बैङ्किङ, रेमिट्यान्स लगायत विभिन्न सदस्य सेवा सञ्चालन गर्दै आएको छ ।
जनसचेतनले बाढीमा परी दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपदमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, विपदबाट प्रभावितको शीघ्र खोज, उद्धार तथा स्वास्थ्य लाभका लागि सहयोग, सद्भाव र मानवीय सेवामा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ ।


