सिङ्गटी, २८ असोज । प्रहरी र स्थानीय व्यवसायीबीच आपसी सद्भाव, विश्वास र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले दोलखाको सिङ्गटीमा प्रहरी र व्यवसायीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार स्थानीय खोलिखिम खेल मैदानमा इलाका प्रहरी कार्यालय सिङ्गटी र उद्योग वाणिज्य संघ सिङ्गटी शाखाबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको हो । इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी निरीक्षक विष्णुहरि फुँयालको कप्तानीमा प्रहरी टोलीले खेलमा सहभागिता जनाएको थियो ।

खेललाई प्रतिस्पर्धाका रूपमा नभई प्रहरी र स्थानीय व्यवसायीबीचको सम्बन्ध थप सुमधुर बनाउने अवसरका रूपमा लिइएको छ । खेलकुदमार्फत आपसी परिचय, विश्वास र सहकार्य बढाउँदै समुदायसँग प्रहरीको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दोलखा उद्योग वाणिज्य संघका सदस्य विमल ओलीले जानकारी दिए ।

प्रहरी र नागरिकबीचको सहकार्य शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण मानिन्छ । यस किसिमका मैत्रीपूर्ण गतिविधिले प्रहरी र स्थानीय समुदायबीचको दूरी घटाउन, आपसी समझदारी बढाउन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘खेलकुदले जोड्छ सम्बन्ध, सहकार्यले बलियो बनाउँछ समाज’ भन्ने सन्देशसहित सम्पन्न मैत्रीपूर्ण खेलले सिङ्गटी क्षेत्रमा प्रहरी र व्यवसायीबीचको सहकार्यलाई थप प्रगाढ बनाउने प्रहरी निरीक्षक फुँयालको विश्वास छ ।


