दोलखा, २५ कार्तिक । दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम बागमती प्रदेश स्तरिय अन्तर क्लब फुटबल प्रतियोगिताको उपाधी एक्टिभ ब्वाईज क्लव खरिढुङ्गाले जितेको छ ।
चरिकोट स्थित भीमेश्वर रङ्गशालामा भएको उपाधी भीडन्तमा घरेलु टोली लालीगुँरास युवा क्लवलाई २–१ गोलले पराजित गर्दै एक्टिभ ब्वाईज उपाधीको हकदार भएको हो । उपाधीसँगै एक्टिभ ब्वाईजले नगद दुई लाख पचास हजार रुपैयाँ र ट्रफि प्राप्त गरेको छ । उपविजेता बनेको लालीगुँरास युवा क्लवले नगद एक लाख पच्चीस हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी भने लालीगुँरास युवा क्लवका मोहन गुरुङ बनेका छन् । उनले नगद ७ हजार ५ सय र ट्रफि प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताका सर्वाधिक गोलकर्ता सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अजय तमाङ भएका छन् भने उत्कृष्ट गोलकिपरको उपाधी बिजेता टोली एक्टिभ ब्वाइजका नविन सिलवाल र उत्कृष्ट कोचको उपाधी पनि एक्टिभ ब्वाईजकै मनोज श्रेष्ठले प्राप्त गरे । उनीहरुले जनही ५ हजार सहित ट्रफि प्राप्त गरे ।
दोलखा जिल्ला फुटबल संघको आयोजनामा गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा दोलखा सहित बागमती प्रदेशका विभिन्न ११ ओटा टोलीले सहभागिता जनाएका थिए । दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन समारोहमा बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले, भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङ लगायतले खेलाडीहरुलाई पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।