चरिकोट, ०७ फागुन । दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकाले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा भीमेश्वर नगरपालिकालाई हराउँदै कालिञ्चोकले उपाधी जितेको हो । उपाधीसँगै कालिञ्चोकले ५० हजार नगद प्राप्त गरेको छ भने उपविजेता भीमेश्वर नगरपालिकाले ३० हजार प्राप्त गरेको छ । प्रतियोगितामा शैलुङ गाउँपालिकाले तेस्रो स्थानका साथ २० हजार नगद र विगु गाउँपालिकाले सान्त्वना स्थानका साथ नगद १० हजार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी कालिञ्चोकका बालकृष्ण खड्काले पाए भने उत्कृष्ट सर्भर पनि कालिञ्चोककै प्रदिप खुलाल बनेका छन् । त्यस्तै भीमेश्वरका विशाल शाही उत्कृष्ट स्पाइकर, दिनेश थापा उत्कृष्ट डिफेण्डर, शैलुङका चन्द्रकृष्ण खड्का उत्कृष्ट ब्लकर र विगुका हिरामणी गौतम उत्कृष्ट सेटर बन्न सफल भए ।
प्रतियोगिताका बिजयी टिम तथा खेलाडीहरुलाई भीमेश्वर नगरपालिकाका उप–मेयर कमला बस्नेतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेकी थिइन् । दोलखा स्पोर्टस् फेलोसिपले आयोजना गरेको प्रतियोगितामा जिल्लाभरका विभिन्न ११ ओटा टिमले सहभागिता जनाएका थिए ।