काठमाण्डौ, १६ असार । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा आगामी साउन २३ गतेदेखि सन्चालन गर्ने भएको छ ।
शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि एसइईको नतिजा प्रकाशनका बखत साउन १८ र १९ गते पूरक परीक्षा गर्ने परीक्षा बोर्डको तयारी थियो । तर शिक्षा मन्त्रालयले २ भन्दा बढी विषयमा ननग्रेड (एनजी) आएका विद्यार्थीहरुलाई पनि पूरक परीक्षामा सहभागि गराउने निर्णय गरेपछि परीक्षाको मिति केही पछि सारिएको हो । मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहालले बैठकले साउन २३ गतेबाट पूरक परीक्षा सन्चालन गर्ने निर्णय गरेको र सोही अनुसार तयारी गर्न परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) लाई आवश्यक तयारी गर्न निर्देशन दिएको जानकारी दिए ।
साथै हाल उत्तीर्ण भएका र पूरक परीक्षामा सहभागि भएर उत्तीर्ण हुने विद्यार्थीको पढाइको ग्याप कम गर्नका लागि असोजको पहिलो हप्ता भित्रै पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने योजना पनि मन्त्रालयको छ । गत बिहिबार प्रकाशित भएको नतिजा अनुसार २ लाख ४२ हजार भन्दा बढी विद्यार्थीहरु नन ग्रेडेड भएका थिए ।
यसैबीच, सरकारले एसइईको पूरक परीक्षा दिने विद्यार्थीहरुलाई पढाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थीहरुलाई परिचालन गर्ने भएको छ । त्रिविमा स्नातक तथा स्नातकोत्तर अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई एसइईका ननग्रेडेड विद्यार्थीलाई सहजीकरणका लागि अनुरोध गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । सामुदायिक विद्यालयका अङ्ग्रेजी, विज्ञान र गणित एवं निजी विद्यालयका नेपाली र सामाजिक विषयमा कक्षा सन्चालनका लागि सहजीकरण गर्न पत्रचार गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।
यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि पूरक परीक्षामा सहभागि हुने विद्यार्थीलाई लक्षित गरी नेपाल टेलिभिजन र रेडियो नेपालबाट अनिवार्य अङग्रेजी, गणित र विज्ञानको कक्षा सन्चालन गर्ने तयारी समेत गरेको छ ।