दोलखा, २४ कार्तिक । दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गत कार्तिक २ गते दोलखाका उत्तरी क्षेत्रका सेवाकेन्द्रबाट एकाइगत रुपमा सुरु भएको साधारण सभा कार्तिक १४ मा मूख्य कार्यालय मैनापोखरी हुँदै शनिबार प्रतिनिधिमूलक हस्ताक्षर सहित सम्पन्न भएको हो । सत्र सेवाकेन्द्रमा ७ ओटा एकाइगत साधारण सभा सम्पन्न भएको समग्रमा करिव ५३ शेयर सदस्यहरुले सहभागिता जनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए ।


चुनियो नयाँ नेतृत्व, उपाध्यक्ष र सचिव सहित चार पद खाली
यसैबीच जनसचेत साकोसको ३१ औँ वार्षिक साधारण सभाले चयन गरेको नयाँ सञ्चालक समिति सुरुबाटै अपाङ्ग बनेको छ । शनिबार तय गरिएको सपथ ग्रहण समारोहमा निर्विरोध निर्वाचित भएको भनिएका महिला उपाध्यक्ष र सचिव सहित चार जनाले भाग नलिए पछि समिति अपाङ्ग भएको हो । महिला उपाध्यक्षमा सुमिता उप्रेती शिवाकोटी, सचिवमा भरत केसी, सञ्चालक सदस्यमा अमृत शेर्पा र लेखा सुपरिवेक्षण सदस्य महिलामा शुशिला न्यौपानेले सपथ नलिएका हुन् । उनीहरु सबै बहालवाला स्थायी शिक्षक हुन् ।
सहकारी ऐन र प्रदेश सहकारी ऐनमा समेत सार्वजनिक पदमा बसेका व्यक्ति, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको समिति र लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनित हुन नसक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थामा टेक्दै निर्वाचन उपसमितिमा परेको उजुरीबाट केही शिक्षक बाहिरिएपछि सुरु भएको शिक्षक रहने कि नरहने भन्ने विवादले नेतृत्व चयन सकसपूर्ण बनेको थियो । दावी बिरोधका क्रममा बाहिरिएका एक शिक्षकले निर्वाचन समिति समक्ष राखेको गुनासो प्रदेश सहकारी विभागसम्म पुगेपछि विभागले ऐनमा भएको व्यवस्था अनुरुप नै नेतृत्व चयन गर्न संस्थालाई पत्राचार गरेको थियो । तर जिल्लाका नाम चलेका कानुन व्यवसायीकै नेतृत्वमा रहेको निर्वाचन उपसमितिले एकल उम्मेद्वारी परेका पदमा शिक्षक नै भए पनि कायम राख्दै दावी बिरोध नपरी उम्मेद्वारी कायम भएका तर सहमति हुन बाँकी रहेका पदबाट बिना जानकारी शिक्षकलाई हटाई सबै पदमा एकल उम्मेद्वारी कायम हुन आएको र समिति पूर्ण रुपमा सर्वसम्मत भएको भन्दै नामावली सार्वजनिक गरेका थिए । त्यसपश्चात कोषाध्यक्ष पदमा दावी विरोधका क्रममा उम्मेद्वारी कायम भइ आएका शिक्षक हरि बहादुर पाण्डेले प्रशासनमा उजुरी समेत दर्ता गराएका थिए भने प्रशासनले समेत निर्वाचनका सम्पूर्ण कागजात दाखिला गर्न संस्थालाई पत्राचार गरेको छ ।
यद्यपी अस्थायी एवं करार शिक्षक पदमा कार्यरत सदस्य पदमा निर्वाचित भनिएका सिर्जना घिमिरे र उर्मिला गौतमले भने शनिबार सपथ लिएका छन् । योसँगै १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति गरी १८ सदस्यीय समिति १४ सदस्यमा झरेको छ । समितिको अध्यक्षमा निवर्तमान उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, उपाध्यक्षमा नारायण प्रसाद दाहाल, सह–सचिवमा शिवराम ढकाल, कोषाध्यक्षमा राजेन्द्र प्रसाद ढुङ्गेल चयन भएका छन् भने सदस्यहरुमा सन्तोष प्रसाद बिमली, नारायण बस्नेत, पदम बहादुर पाण्डे, केदार प्रसाद दाहाल, ज्ञानबहादुर तामाङ लगायत चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रशान्त चौलागाईं चयन भएका छन् ।
