सिङ्गटी, २२ मंसिर । नेकपा माओवादी केन्द्र विगु गाउँपालिका २ को वडा सम्मेलन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
सम्मेलनले दीपक ठकुरीको अध्यक्षतामा २९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । ओराङ डाँडामा सम्पन्न सम्मेलनका क्रममा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य नर बहादुर ठकुरी र नेपाली काङ्ग्रेस वडा नम्बर २ का पार्टी सचिब लगायत एमाले काङ्ग्रेस लगायत विभिन्न दल परित्याग गरी दुई दर्जन भन्दा बढी व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई सम्मेलनका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नर बहादुर पाख्रिन, नेकपा माओवादी केन्द्र विगु गाउँपालिका अध्यक्ष रमेश ठकुरी लगायतले स्वागत गरेका थिए ।
नेकपा माओवादी केन्द्र विगु २ का अध्यक्ष डिल बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेती, अखिल नेपाल खेलकुद महासंघ दोलखाका अध्यक्ष विमल ओली, वाइसीएल नेपाल विगु गाउँपालिका इन्चार्ज युवराज खत्री, विगु गाउँपालिका १ का पूर्व वडाध्यक्ष हिरण्य बहादुर गुरुङ (नारायण), नेपाल तामाङ घेदुङका टेकमान तामाङ लगायतको उपस्थिती रहेको थियो ।
सम्मेलनको उद्घाटन अघि विभिन्न स्थानबाट बाजागाजा र र्याली सहित स्थानीयहरु सम्मेलन स्थल पुगेका थिए ।