हेटौडा, २० श्रावण । दोलखा प्रदेश सभा ख बाट निर्वाचित सांसद भरत बहादुर केसी बागमती प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।
नेपाली कांग्रेसको संसदिय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा मङ्गलबार पुनर्गठित बागमती प्रदेशको मन्त्री मण्डलमा केसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनले मङ्गलबार नै पदभार ग्रहण गरेका छन् । बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीमा पुग्ने केसी दोलखाका पाचौँ नेता हुन् । यसअघि नेकपा माओवादी केन्द्रका नेता विशाल खड्का, कांग्रेस नेता कुन्दनराज काफ्ले, एमालेका सरस्वती बस्नेत र रचना खड्का बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।
यसअघि माओवादी नेता खड्काले सम्हालेको मन्त्रालय पुन दोलखाकै केसीको भागमा परेको हो । खड्का मन्त्री हुँदा सुरु गरेको जिरी ताल निर्माणको विषय पछिल्लो समय ओझेलमा परेका बेला केसीले सोही मन्त्रालय सम्हाल्नु अर्थपूर्ण बनेको छ ।



