चरीकोट, ११ माघ । नेकपा एमाले दोलखाबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्वार बन्न आकाङ्क्षी नेता बालकृष्ण शिवाकोटीले टिकट पाउन जनताको मन जितेर मात्र नहुने रहेछ भन्दै राजनीतिक पीडा अभिव्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकको आफ्नै खाताबाट लामो स्टाटस पोष्ट गर्दै नेता शिवाकोटीले भनेका छन्, “एमालेबाट उम्मेद्वारको टिकट पाउन नेताको वरिपरी घुम्ने, आफूलाई सर्वेसर्वा ठान्ने, गणेशरुपी बिचौलियाहरुको असिमित र नाजायज आकाङ्क्षा पूरा गर्न सक्नुपर्दाे रहेछ ।” शिवाकोटी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार भइ माओवादी नेता गङ्गा कार्की विश्वसँग केही सय मतको अन्तरले पराजित भएका थिए । त्यतिबेलाको निर्वाचनमा आफू दोलखा प्रदेश सभा ‘ख’ बाट उम्मेद्वार बन्ने पक्कापक्की भइसकेको अवस्थामा नेता पार्वत गुरुङले आफू मतदाताबीच अलोकप्रिय भएकाले प्रतिनिधि सभामा लड्न प्रेरित गरेको उल्लेख गर्दै शिवाकोटीले यस पटकको निर्वाचनमा आफ्नो स्वभाविक चाहना र जनताको मनमा स्थान हुँदाहुँदै उम्मेद्वार सिफारिसका क्रममा योजनावद्ध रुपमा तिकडम, अन्याय र अस्वस्थ राजनीतिक खेल खेलिएको बताएका छन् ।
२०७९ सालको निर्वाचनको पराजयका पछि बाह्य शक्तिहरु मात्र नभइ पार्टी भित्रैबाट भएका अस्वभाविक, पीडादायी र आत्मघाती गतिविधिहरु समेत जिम्मेवार रहेको दावी गर्दै उनले उक्त तीतो यथार्थको सचेत कार्यकर्ताहरुले गम्भिरतापूर्वक समिक्षा गरेको बताएका छन् । पद, प्रभाव र स्वार्थको साँघुरो घेराभित्र बस्न नसक्नु आफ्नो कमजोरी नभइ स्वभाव भएको भन्दै शिवाकोटीले उम्मेद्वार बन्न नसकेकोमा पार्टीका इमान्दार कार्यकर्ताहरुसँग माफी पनि मागेका छन् ।
स्मरण रहोस्, नेकपा एमाले दोलखाले उम्मेद्वार सिफारिसका क्रममा गुरुङलाई एक मात्र उम्मेद्वार भन्दै शिवाकोटीको नाम दोस्रो नम्बरमा समेत पठाएको थिएन । त्यस लगत्तै शिवाकोटीले पत्रकार सम्मेलन गरेर अन्यायपूर्ण ढङ्गले उम्मेद्वार सिफारिस गरिएको धारणा सार्वजनिक गरेका थिए भने उनी निकट केही नेताहरुले पदबाट राजीनामा समेत दिएका थिए । पछि एमाले बागमती प्रदेश कमिटीले जिल्ला कमिटीको निर्णय विपरित शिवाकोटीको पनि नाम समावेश गरेर केन्द्रमा सिफारिस गरे पनि अन्ततः गुरुङले नै टिकट ल्याउन सफल भएका थिए ।



