दोलखा, ०९ पौष । जिल्लाको पर्यटकीय नगरी जिरीमा सोमबारदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिरी माविको व्यवस्थापनमा जिरी नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधि सभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गङ्गा कार्कीले उद्घाटन गरे । जिरी माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी लगायत सामूहिक खेलसँगै एथलेटिक्स तर्फका विभिन्न प्रतिस्पर्धाहरु हुनेछन् । एथलेटिक्स अन्तर्गत दौड तर्फका सबै प्रतिस्पर्धाहरु सोमबार विहान नै जिरी एअरपोर्टको मैदानमा सम्पन्न भइसकेका छन् । प्रतियोगितामा जिरी नगरपालिका भित्रका नौ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।
जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सांसद कार्की सहित बागमती प्रदेश सभा सदस्य उर्मिला सुनुवार, जिल्ला समन्वय समिति दोलखाका उप–प्रमुख दोर्जी शेर्पा, जिरी नगरपालिकाका नगर उपप्रमुख कृष्णमाया खड्का बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । (तस्बीर सौजन्यः न्यूज दोलखा)


