सिङ्गटी, १३ माघ । दोलखाको उत्तरी सिङ्गटी बजारमा मङ्गलबारदेखि सुरु भएको दशौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
विभिन्न तीस विधामा भएको प्रतिस्पर्धा मध्ये आठ विधामा प्रथम भएको जिरी नगरपालिकाले प्रतियोगिताको उपाधी अर्थात रनिङ शिल्ड लगेको छ । प्रतियोगितामा जिरीले ८ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्न सफल भयो ।
त्यसैगरी साविक विजेता विगु गाउँपालिका भने ६ स्वर्ण, ६ रजत र ४ कास्य जित्दै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । विगुलाई रनिङ शिल्ड कायम राख्नमा एथलेटिक्स तर्फ जिरीका खेलाडी बाधक बने । कुल १६ विधाको एथलेटिक्सका प्रतिस्पर्धामा जिरी एक्लैले आठ स्वर्ण कब्जा गरेको थियो । फिल्ड र एथलेटिक्स गरी ५ स्वर्ण, २ रजत र २ कास्य जितेको तामाकोशी गाउँपालिका प्रतियोगितामा तेस्रो हुन सफल भयो । ४ स्वर्ण, ४ रजत र ४ कास्य सहित वैतेश्वर गाउँपालिका र २ स्वर्ण, ६ रजत र ४ कास्य सहित कालिञ्चोक गाउँपालिका क्रमशः चौथो र पाँचौ स्थानमा रहे । प्रतियोगितामा शैलुङ गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ३ कास्य जितेको छ भने भीमेश्वर नगरपालिकाले १ स्वर्ण, ४ रजत र ४ कास्य जितेको छ । मेलुङ र गौरीशङ्कर गाउँपालिका भने १ स्वर्ण र १ कास्यका साथ प्रतियोगिताको अन्तिम स्थानमा रहे ।
प्रतियोगिताको अन्तिम दिन शनिबार छात्र र छात्रा भलिबल तर्फको फाइनल खेल खेलाइएको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई बागमती प्रदेशका श्रम, रोजगार तथा यातयात मन्त्री लक्ष्मण लम्साल लगायतले पुरस्कार तथा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिको आयोजना र विगु गाउँपालिकाको सह आयोजना एवं व्यवस्थापनमा भएको प्रतियोगिता पहिलो पटक जिल्लाको उत्तरी व्यापारिक केन्द्रमा सञ्चालन गरिएको हो । विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् । प्रतियोगिताको बाँकी समिक्षा छिट्टै सर्वपक्षीय छलफलबाट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीले जनतापेजलाई जानकारी दिए ।
हेर्नुहोस् पदक तालिका



