चरिकोट, १८ बैशाख । दोलखा सदरमुकाम चरिकोटका अधिकांश निजी विद्यालयहरू शुक्रबार सञ्चालन भए । अन्तराष्ट्रिय मजदुर दिवस, बुद्ध जयन्ती र उभौली पर्व समेत परेका दिन विद्यालय सञ्चालन भइरहँदा विद्यालयहरूले सामाजिक संवेदनशीलतालाई बेवास्ता गरेको भन्दै आलोचना भएको छ ।
बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । सदरमुकाम र आसपासका क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूको बाक्लो बसोबास छ, जहाँबाट ती विद्यालयहरूमा बालबालिका अध्ययनका लागि आउने गर्दछन् । जिल्ला ङिङ्मा लामा संघका अध्यक्ष डुक्पा शेर्पाले बुद्ध जन्मेको दिन जस्तो पवित्र दिनमा पनि विद्यालय सञ्चालन गर्नु दुखद् भएको बताए । उनका अनुसार विद्यालयहरूले आफ्ना बालबालिकाहरूलाई सामाजिक परम्परा, मूल्य–मान्यता र धार्मिक सहिष्णुता सिकाउनुपर्नेमा निहित फाइदा मात्रै हेरेको हो की भन्ने आभास बौद्ध धर्मावलम्बीहरूले गरेका छन् ।
शुक्रबार नै अन्तराष्ट्रिय मजदुर दिवस पनि परेको छ । यो दिन विश्वभरका कामदारहरू छुट्टिमा रहन्छन् । तर चरिकोटका निजी विद्यालयहरूले विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई मजदुर दिवसमा समेत छुट्टी नदिएर श्रम र श्रमिकको अपमान गरेको भन्दै आलोचना भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव रामचन्द्र कार्कीले मे दिवसका दिन विश्वभरका सबैखाले श्रमजीविहरूलाई विदा दिने र उत्सव मनाउने चलन रहेको भन्दै दोलखाका निजी विद्यालयहरूले सोही दिन विद्यालय चलाएर त्यहाँ काम गर्ने शिक्षकहरूको श्रमिकको अधिकार, सामाजिक न्याय र मानव अधिकार नै उल्लंघन गरेको धारणा व्यक्त गरे । कार्कीले दोलखाका निजी विद्यालयहरूले कार्यरत शिक्षकहरूलाई आइएलओ महासन्धी अनुसार तोकिएको न्यूनतम पारिश्रमिक पनि नदिएको गुनासो आइरहेकाले यथाशीघ्र सुधार गर्नुपर्नेमा जोड समेत दिए ।
शुक्रबारकै दिन किँरात धर्मावलम्बीहरूले उभौली पर्व मनाएका छन् । उधौंली र उभौली पर्वमा सरकारले सार्वजनिक विदा दिन थालेको वर्षाै भइसकेको छ । किँरात अगुवा एवम् आलम्पु भूमे संरक्षण समितिका अध्यक्ष प्रतमान थामीले उभौली पर्व किँरातहरूको ठूलो पर्व भएकाले सरकारले समेत विदा दिएको दिनमा विद्यालय सञ्चालन गरेर किँरातहरूको अपमान गर्न खोजेको अनुभुती आफूहरूलाई भएको बताए ।
यसैबीच, महत्वपूर्ण चाडपर्व र दिवसका दिन पनि विद्यालय सञ्चालन गरेका सम्बन्धमा निजी विद्यालय सञ्चालकहरूको छाता सङ्गठन निजी तथ आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दोलखाका अध्यक्ष जगत श्रेष्ठले कुनै पनि साम्प्रदायिक सद्भाव भड्काउने वा खलल पु¥याउने दृष्टिकोणले विद्यालय सञ्चालन नभएको दावी गरे । उनले सरकारले घोषणा गरेको आइतबारको बिदा पनि निजी विद्यालयहरूले पालना गर्ने भन्दै विदा र भर्नाको अन्यौलताका बीच कतिपय विद्यालय सञ्चालन भएको हुनसक्ने बताए । शनिबार र आइतबार बिदा गर्ने निर्णय मुताबिक अन्य दिन सञ्चालन गर्ने भन्ने सहमतिका आधारमा विद्यालय सञ्चालन गरिए पनि शुक्रबारको महत्वपूर्ण पर्व र दिवसलाई ख्याल नगरिएको महशुश भने गरिएको उनको भनाइ छ ।


