जुँगु, ०२ असोज । १४औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा दोलखाको गौरीशङ्कर गाउँपालिकाले आयोजना गरेको माध्यमिक तहस्तरीय विज्ञान प्रदर्शनीमा हलेश्वर माध्यमिक विद्यालय प्रथम भएको छ ।
शुक्रबार गौरीशङ्कर–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनको अवधारणा’ विषयक विज्ञान प्रदर्शनीमा गौरीशङ्कर–५ सुरीस्थित हलेश्वर मावि प्रथम भएको हो । प्रदर्शनीमा निलकण्ठेश्वर माध्यमिक विद्यालय द्वितीय र गौरीशङ्कर–३ स्थित मानेडाँडा माध्यमिक विद्यालय तृतीय भएका छन् ।
प्रदर्शनीमा सहभागी विद्यालयका विद्यार्थीहरूले स्थानीय स्तरमा उपलब्ध स्रोत तथा साधनको प्रयोग गरी जलवायु परिवर्तन, विपद् व्यवस्थापनलगायत विषयसँग सम्बन्धित विभिन्न वैज्ञानिक नमुना तथा सामग्री प्रस्तुत गरेका थिए । सीमित स्रोत–साधनको प्रयोगबाट विद्यार्थीको वैज्ञानिक सोच, सिर्जनशीलता तथा नवप्रवर्तन क्षमताको प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गौरीशङ्कर गाउँपालिकाले जनाएको छ ।




प्रदर्शनीमा विजयी विद्यालय तथा विद्यार्थीलाई गाउँपालिका अध्यक्ष विश्वास कार्की, उपाध्यक्ष उमा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, वडा नम्बर २ का अध्यक्ष रोहित बुढाथोकी, वडा नम्बर ३ का अध्यक्ष युग बहादुर बस्नेत लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै विद्यार्थीमा प्रयोगात्मक तथा अनुसन्धानमुखी सिकाइको विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई विज्ञान र प्रविधिको प्रयोगात्मक ज्ञानसँग जोड्न सके उनीहरूमा नयाँ खोज तथा सिर्जनशीलताको विकास गर्न सहयोग पुग्ने बताए ।


