चरिकोट, ४ असोज । दोलखा जिल्ला भलिबल संघले नयाँ नेतृत्व पाएको छ । संघको पाँचौँ अधिवेशनबाट हरिवंश बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा दीपक श्रेष्ठ, सचिवमा अपिल मोक्तान र कोषाध्यक्षमा रमेश रेग्मी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा लोप्साङ तामाङ, कुशल विक, एसिक नेपाली, विशाल तामाङ, सञ्चिता आचार्य, सावित्रा उप्रेती र कोपिला श्रेष्ठ चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले जिल्लामा भलिबल खेलको विकाससँगै नयाँ खेलाडी उत्पादन र प्रतियोगिता सञ्चालनलाई व्यवस्थित बनाउने जनाएको छ । दोलखामा लोकप्रिय खेलका रूपमा रहेको भलिबलको गतिविधिलाई थप विस्तार गर्ने तथा खेलाडीलाई अवसर उपलब्ध गराउने विषयलाई नयाँ कार्यसमितिले प्राथमिकतामा राखेको छ ।
संघको नेतृत्व परिवर्तनसँगै जिल्लामा भलिबलका नियमित गतिविधि, खेलाडी उत्पादन र प्रतियोगिता व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने जिम्मेवारी नयाँ कार्यसमितिमा आएको छ ।


