काठमाण्डौ, ०९ साउन । मर्मतका लागि उडेको सौर्य एअरलाईन्सको विमान दुर्घटना हुँदा बुधबार काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै १८ जनाले ज्यान गुमाए ।
विमानलाई प्रत्येक २ वर्षमा अनिवार्य मर्मत गर्नुपर्ने प्रावधान अनुसार पोखरा उडेको सौर्य एअरलाईन्सको (९ एन ए एम ई) विमान त्रिभुवन विमानस्थलको धावन मार्ग छोडेर उड्ने बितिकै दुर्घटना भएको हो । विमानस्थल स्रोतका अनुसार ११ बजेर १३ मिनेट जाँदा उडान भरेको विमान त्यसको केही सेकेण्डमै अनियन्त्रित भइ दाहिने मोडिएर जमिनमा ठोक्किएको थियो । जमिनमा ठोक्किनासाथ घिस्रिएर केही पर पुग्दासम्म विमानमा आगो लागिसकेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार विमान दाहिने मोडिँदा खोँचमा परेको थियो । अत्याधिक दाहिने मोडिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्राधिकरणको भनाई छ ।
दुर्घटनामा परी विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु घटनास्थलमा नै भएको छ । विमानका पाइलट मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरी सिनामङ्गल स्थित केएमसी अस्पताल पठाइएको थियो । शाक्यको बुधबार नै मेरुदण्डको शल्यक्रिया गरिएको र उनी खतरामुक्त रहेको बुझिएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा विमान कम्पनीका कर्मचारी सहित सर्वसाधारण समेत रहेको जनाइएको छ ।
यसैबीच, मर्मतका लागि भनेर उडेको जहाजमा असम्बन्धित मान्छेलाई चढाएको भन्दै विमान कम्पनी र नियामक निकायको आलोचना पनि भइरहेको छ । ‘सी-चेक’ अर्थात कम्प्लिट चेक जुन हरेक जहाज पाँच हजार घण्टा उडेपछि अनिवार्य रुपमा गर्नुपर्दछ, यस्तोमा उडान भर्ने विमानमा पाइलट लगायत चालक दलका सदस्य र इन्जिनियर प्राविधिक बाहेक अन्य चढाउन पाइँदैन ।
घटनाको छानविनका लागि सरकारले ५ सदस्सीय जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगले ४५ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ । त्यस्तै विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा बिहिबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेको छ ।